काठमाडौं । चलचित्र ‘गौँथली’ले प्रदर्शनको ५१औँ दिन पूरा गरेको छ। यो वर्ष हालसम्म सर्वाधिक कमाइ गर्ने नेपाली चलचित्र बनेको ‘गौँथली’ले काठमाडौं उपत्यकासहित देशभरका तीन दर्जनभन्दा बढी हलमा ५१औँ दिन मनाएको हो।
निर्माता सुमन गिरीका अनुसार चलचित्र अहिले ४३ हलमा ५९ शोसहित प्रदर्शन भइरहेको छ। उनका अनुसार ‘गौँथली’ले हालसम्म २५ करोड ८० लाख ५ हजार ५२५ रुपैयाँ ग्रस कलेक्सन गरेको छ।
अधिकांश नेपाली चलचित्रलाई एक सातासम्म पनि हलमा टिक्न कठिन भइरहेको अवस्थामा ‘गौँथली’ले भने ५१औँ दिनसम्म आफ्नो प्रदर्शन यात्रा निरन्तर राखेको हो। निर्माण पक्षका अनुसार चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’पछि नेपाली फिल्म उद्योगमा सर्वाधिक कमाइ गर्ने दोस्रो चलचित्र बनेको छ।
५१औँ दिनको सफलतामा निर्देशक डा. कपिल रिजालले दर्शकको माया र निर्माण टिमको मेहनतलाई श्रेय दिएका छन्। उनले दर्शकको साथले आफूहरूलाई आगामी दिनमा अझ जिम्मेवार भएर काम गर्न प्रेरित गरेको बताए। साथै, उनले चलचित्रलाई निरन्तर माया र साथ दिने दर्शकप्रति आभार व्यक्त गरेका छन्।
डा. कपिल रिजालको निर्देशनमा बनेको ‘गौँथली’मा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना र लक्ष्मीनाथ तिमिल्सिनालगायतका कलाकारको अभिनय छ।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको फिल्मकी कार्यकारी निर्माता सरला रिजाल हुन्। फिल्मका निर्माता सुमन गिरी र डा. कपिल रिजाल रहेका छन्।


