काठमाडौं । निर्माता रोहित अधिकारी नेपाली फिल्मका लोकप्रिय स्टार कलाकारसँग लगातार सहकार्य गर्ने तयारीमा देखिएका छन् । अनमोल केसीसँग सम्झौता गरेपछि उनले अभिनेता पल शाहलाई लिएर पनि नयाँ फिल्म निर्माणको तयारी अघि बढाएका छन् ।
रोहित अधिकारी फिल्मस्को ब्यानरमा बन्ने दुई नयाँ फिल्ममा अनमोल केसी र पल शाह मुख्य भूमिकामा रहने भएका छन् । यससँगै रोहितको आगामी फिल्म यात्रामा नेपाली फिल्मका दुई चर्चित स्टार अभिनेता जोडिएका छन् ।
रोहितले यसअघि निर्माण गरेको सफल फिल्म ‘फर्की फर्की’को सिक्वेलमा अनमोललाई दोहोर्याउने तयारी गरेका छन् । अनमोलसँग सम्झौता भइसकेको छ भने फिल्म निर्देशनका लागि सुयोग गुरुङ पनि अनुबन्धित भएका छन् ।
सिक्वेलको नाम ‘फर्की फर्कीः बियोन्ड टाइम’ राखिएको छ । फिल्ममा अनमोलसँगै जसिता गुरुङको जोडीलाई पनि निरन्तरता दिइने निर्माता रोहित अधिकारीले बताएका छन् । फिल्मको निर्मातामा शोभा ढकाल र कार्यकारी निर्मातामा सुरज बम ठकुरी रहनेछन् ।
हाल अनमोल ‘ए मेरो हजुर ५’को छायांकनमा व्यस्त छन् । त्यसपछि उनी रौनक विक्रम कडेलको निर्माणमा बन्ने अर्को फिल्ममा काम गर्नेछन् । त्यसपछि मात्रै ‘फर्की फर्कीः बियोन्ड टाइम’को छायांकन सुरु गर्ने तयारी छ ।
अनमोलसँगको सहकार्य अघि बढाइरहेका रोहितले अर्का लोकप्रिय अभिनेता पल शाहसँग पनि नयाँ फिल्म निर्माणको तयारी गरेका छन् । पलसँग फिल्मका विषयमा मौखिक सहमति भइसकेको र औपचारिक सम्झौता हुन भने बाँकी रहेको रोहितले बताएका छन् ।
पल अहिले ‘यानीमाया’को काममा व्यस्त छन् । दशैंमा रोहित अधिकारी तथा दीपकराज गिरी–दीपाश्री निरौलाको सहकार्यमा निर्माण भएको ‘छ माया छपक्कै २’ प्रदर्शनमा आएपछि पलको ‘यानीमाया’को छायांकन पनि सकिनेछ । त्यसलगत्तै औपचारिक सम्झौता गरेर पुसको पहिलो साताबाट पलसँग नयाँ फिल्मको छायांकन सुरु गर्ने तयारी रोहितको छ ।
नयाँ फिल्ममा पलको जोडीका रूपमा अभिनेत्रीको खोजी भइरहेको छ । यद्यपि, ‘फर्की फर्की’मा अनमोल र जसिताको जोडी सफल भएकाले नयाँ फिल्ममा पनि जसितालाई पलको जोडीका रूपमा प्रस्तुत गर्ने सम्भावनालाई नकारिएको छैन ।
यसरी हेर्दा रोहित अधिकारी पछिल्लो समय नेपाली फिल्मका दुई लोकप्रिय स्टार—अनमोल केसी र पल शाहलाई लगातार आफ्नो फिल्ममा जोड्ने निर्माताका रूपमा अघि बढिरहेका छन् । उनको तयारीअनुसार पहिले पल शाहलाई लिएर नयाँ फिल्म निर्माण हुनेछ भने त्यसपछि अनमोल केसीलाई लिएर ‘फर्की फर्कीः बियोन्ड टाइम’ निर्माण हुनेछ ।
स्टार कलाकार, चर्चित निर्देशक र सफल फ्रेन्चाइजको सिक्वेललाई प्राथमिकतामा राखेर अघि बढाइएको रोहितको यो योजनाले उनको आगामी फिल्म यात्रालाई थप महत्वाकांक्षी बनाएको छ । ‘गाजलु’, ‘छ माया छपक्कै’, ‘फर्की फर्की’, ‘माइतीघर’ र ‘छ माया छपक्कै २’ हुँदै अब पल र अनमोललाई लिएर निर्माण हुने दुई नयाँ फिल्मले रोहितको व्यावसायिक निर्माताका रूपमा यात्रालाई थप बलियो बनाउने अपेक्षा गरिएको छ ।


