काठमाडौँ । भदौ २६ गते शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘अक्षरा’ले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)बाट युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको छ। योसँगै फिल्मलाई सबै उमेर समूहका दर्शकले हेर्न पाउने भएका छन्।
२ घण्टा १४ मिनेट लामो फिल्मले सेन्सर बोर्डबाट व्यावसायिक प्रदर्शनका लागि स्वीकृति पाएपछि निर्माण पक्ष उत्साहित देखिएको छ।
अभिभावकले छोरीको इच्छा र चाहनाविपरीत खान्दानी परिवारको केटा रोजेर जबर्जस्ती विवाह गरिदिएपछि उत्पन्न हुने पारिवारिक समस्या र त्यसको सामाजिक असरलाई फिल्मले मुख्य विषय बनाएको छ। फिल्मलाई विनयराज पौडेलले निर्देशन गरेका हुन्।

फिल्ममा सुशील सिटौला र न्यान्सी खड्का मुख्य भूमिकामा छन्। उनीहरूसँगै सुशील पोखरेल, अंशु महर्जन, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसी, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी, सुमन ज्योति न्यौपाने (ल्याग्री दादा) र सृष्टि खड्काको अभिनय रहेको छ। बालकलाकारका रूपमा रोनक खड्का र प्रीसा ढुङ्गाना छन्।
क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको ‘अक्षरा’की प्रस्तुतकर्ता सोनी थापा (ढुङ्गाना) हुन्। फिल्ममा उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गानाको लगानी रहेको छ। कार्यकारी निर्मातामा सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने छन्।
निर्माता उग्रसेनकै कथामा बनेको फिल्मको पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक पौडेलले संयुक्त रूपमा तयार पारेका हुन्।
फिल्ममा दिपेन बस्न्यातको छायांकन र गौतम खड्काको सम्पादन रहेको छ। टिजर तथा ट्रेलर साहिल खानले तयार पारेका हुन्। नृत्य निर्देशन रामजी लामिछाने र द्वन्द्व निर्देशन शंकर महर्जनले गरेका छन्।
सुरेन्द्र रानाको शब्द तथा कर्णराज गिरीको संगीत रहेको फिल्मका गीतमा अञ्जु पन्त, समीक्षा अधिकारी, रचना रिमाल र एसडी योगीको स्वर सुन्न सकिन्छ।
फिल्मको वितरण नेसनल सिने ग्रुप नेपालका तर्फबाट दीपक दंगालले गर्दैछन् भने डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ।


