काठमाडौं । नयाँ नेपाली चलचित्र ‘अन्तिम दाउ’को औपचारिक घोषणा गरिएको छ। निर्माण पक्षले चलचित्रको थिम तथा मुख्य कलाकारहरूको क्यारेक्टर लुक्स झल्काउने दुई फरक फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै निर्माण सुरु भएको जानकारी दिएको हो।
फ्रेम इन मोसन पिक्चर्सको प्रस्तुतिमा बन्ने चलचित्रको निर्देशन बिजु पार्कीले गर्नेछन्। यो उनको डेब्यू निर्देशन हो।
सार्वजनिक पोस्टरले चलचित्र एक्सन तथा थ्रिलर जनरामा आधारित रहेको संकेत गर्छ। पहिलो पोस्टरमा ६ जना मुख्य कलाकारलाई एउटै लाइनमा प्रस्तुत गरिएको छ। पृष्ठभूमिमा घना जंगल र पहाडी भूगोल देखाइएको छ, जसले कथाको परिवेश दुर्गम वा जंगली क्षेत्रसँग जोडिएको संकेत गर्छ।
पोस्टरमा कलाकारहरूको अनुहारमा चोटका दाग देखिन्छन् भने उनीहरूको गम्भीर र आक्रामक भावले चलचित्रमा हुने द्वन्द्वको संकेत गर्छ। पोस्टरको दुवै किनारामा रहेका कविता नेपाली र निश्चल प्रधान भने रहस्यमय ढंगले मुस्कुराइरहेका छन्। उनीहरूको प्रस्तुतिले कथामा फरक तथा रहस्यमय भूमिकाको संकेत गरेको देखिन्छ।

दोस्रो पोस्टर अझ रहस्यमय शैलीमा सार्वजनिक गरिएको छ। रातो रंगको ठाडो पट्टीमा ‘२०२७’ लेखिएको छ। उक्त अंकले चलचित्रको कथा भविष्यको समयसँग सम्बन्धित रहेको वा प्रदर्शन मितिसँग जोडिएको हुनसक्ने संकेत गरेको छ।
यस पोस्टरमा कविता नेपाली र निश्चल प्रधानको अनुहारलाई केन्द्रमा राखिएको छ भने बाँकी चार कलाकारलाई तलको भागमा प्रस्तुत गरिएको छ। कविताको हाफ लुक्ससहितको बडी र निश्चलको अनुहारमा देखाइएको जबर्जस्त हाँसोले पोस्टरलाई थप रहस्यमय बनाएको छ। त्यस्तै विजय लामा, अर्पण थापा, शुशांक मैनाली र पेमा दावा लामाको अनुहारमा चोट तथा रगतका दाग देखाइएको छ।
चलचित्रमा विजय लामा, अर्पण थापा, कविता नेपाली, शुशांक मैनाली, निश्चल प्रधान, पेमा दावा लामा र बिमल पुरीको मुख्य अभिनय रहनेछ।
फिल्मका सह–निर्मातामा सुवास तामाङ, कर्मा लामा र पासाङ नोर्बु शेर्पा छन्। कार्यकारी निर्मातामा रमेश शाही ठकुरी र शिशिर पार्की रहेका छन्। प्रोजेक्ट एडभाइजरमा गजित विष्ट र सरिता गिरी तथा प्रोडक्सन म्यानेजरमा सरोज श्रेष्ठ छन्।
चलचित्रको चिफ असिस्टेन्ट डाइरेक्टरमा अनिश बुढाथोकी तथा असिस्टेन्ट डाइरेक्टरमा मार्लोभ ढुंगाना, अनिता स्याङ्बो र विशाल बुढा रहेका छन्। कलरिस्टमा कुणाल कुँवर, एक्सनमा राजु डोङ, भीएफएक्समा सज्जल लोप्चन तथा मेकअप र कस्ट्युम डिजाइनमा ज्योति केसी रहनेछन्।
रामप्रसाद चौधरीको सम्पादन रहने चलचित्रको डीओपी संगम राई हुन्। चलचित्रको वितरण श्रीराम बालाजी फिल्म्सले गर्नेछ भने पब्लिसिटी पार्टनरमा टौवा स्टुडियो रहेको छ।
निर्माण पक्षका अनुसार चलचित्रको छायांकन छिट्टै सुरु हुनेछ।


