काठमाडौं । यही शुक्रबार, भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको बहुप्रतीक्षित नेपाली चलचित्र ‘बेहुली’*को अग्रिम टिकट बिक्री सुरु भएको छ। ट्रेलरबाट उत्साहजनक प्रतिक्रिया पाएको चलचित्रले अग्रिम बुकिङमा पनि राम्रो सुरुवात गरेको छ।
बुधबार बिहानसम्मको तथ्यांकअनुसार ‘बेहुली’ले नेपालभरका हलमा १०० भन्दा बढी शो पाइसकेको छ। यसले चलचित्रले बक्स अफिसमा बलियो ओपनिङ गर्ने संकेत देखिएको निर्माण पक्षको दाबी छ।
दर्शकको उच्च पर्खाइलाई मध्यनजर गर्दै प्रमुख मल्टिप्लेक्स चेनहरूले चलचित्रलाई उल्लेख्य शो दिएका छन्। क्युएफएक्स सिनेमाजले देशभरका आफ्ना हलमा बाक्लो शो उपलब्ध गराएको छ भने आईएनआई सिनेमाजले पनि पर्याप्त शो खोलेको छ। फ्रेन्ड्स सिनेमा, वन सिनेमा लगायतका अन्य सिंगल तथा मल्टिप्लेक्स हलमा समेत चलचित्रले राम्रो शो पाएको छ।
चलचित्रका वितरक गोविन्द शाहीका अनुसार दर्शकको बढ्दो चाप र उत्साहलाई हेर्दा प्रदर्शन मितिसम्म शो संख्या अझै बढ्ने अपेक्षा गरिएको छ।
‘बेहुली’ले प्राप्त गरेको शो र अग्रिम बुकिङको मुख्य आधार यसको ट्रेलरलाई मानिएको छ। आइतबार सार्वजनिक भएको ट्रेलरले २४ घण्टामै युट्युबमा १० लाखभन्दा बढी भ्युज प्राप्त गरेको थियो। सार्वजनिक भएको १८ घण्टामै नेपालमा युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा पुगेको ट्रेलर कुवेत, कतार, साउदी अरब, मलेसिया, यूएई, दक्षिण कोरिया, जापान, अस्ट्रेलिया, रोमानिया र पोर्चुगललगायतका देशमा समेत ट्रेन्डिङमा परेको निर्माण पक्षले जनाएको छ।
ट्रेलरमा प्रेम, पारिवारिक सम्बन्ध र मित्रताका विभिन्न आयामलाई प्रस्तुत गरिएको छ। सामाजिक सञ्जालमा ‘कुल ब्वाई’का रूपमा परिचित पारस बम ठकुरी र अभिनेत्री दिव्या रायमाझीबीचको अनस्क्रिन केमेस्ट्रीले दर्शकको ध्यान खिचेको छ।
त्यस्तै सुशान्त कार्की प्रहरीको भूमिकामा देखिएका छन् भने कमेडियन पदम तामाङको हास्य शैली र सन्तोष बानियाको फरक तथा प्रभावशाली अभिनयले पनि ट्रेलरप्रतिको कौतुहलता बढाएको छ।
सशान कँडेलको निर्देशन तथा माधव शर्माको लेखन रहेको चलचित्रमा सरिता गिरी, विशाल पहारी, कर्मा लामा लगायतका कलाकारको अभिनय रहेको छ। द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता अर्जुन पोखरेल हुन् भने निर्माता प्रताप शमशेर राणा रहेका छन्।
ट्रेलरले पाएको चर्चा र अग्रिम टिकट बुकिङमा देखिएको उत्साहसँगै ‘बेहुली’को प्रदर्शनप्रति निर्माण पक्ष आशावादी देखिएको छ।


