काठमाडौँ । नेपाली क्रिकेट टोलीले एसीसी पुरुष प्रिमियर कपको फाइनलमा स्थान बनाएको छ। मलेसियाको बायुमास क्रिकेट ओभलमा भएको पहिलो सेमिफाइनलमा नेपालले ओमानलाई ८७ रनले पराजित गर्दै उपाधि नजिक पुगेको हो।
नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको ओमान नेपाली बलरको उत्कृष्ट प्रदर्शनसामु टिक्न सकेन। ओमान २८.१ ओभरमा ६० रनमै अलआउट भएपछि नेपालले सहज जित हात पारेको हो।
पहिले ब्याटिङ गरेको नेपालको सुरुआत भने निराशाजनक थियो। ३६ रन जोड्दासम्म नेपालले आसिफ शेख ११, देव खनाल १३, ईशान पाण्डे १ र रोहित पौडेल ३ रनमा गुमाएको थियो।
त्यसपछि दीपेन्द्र सिंह ऐरी र बसिर अहमदले इनिङ्स सम्हाले। यी दुईले पाँचौँ विकेटका लागि ९३ रनको महत्वपूर्ण साझेदारी गर्दै नेपाललाई सम्मानजनक योगफलतर्फ अघि बढाएका थिए।
दीपेन्द्रले ७६ बलमा चार चौकासहित ५१ रन बनाए भने बसिरले ८८ बलमा तीन चौका र एक छक्काको सहयोगमा ४७ रन जोडे। यी दुई आउट भएपछि नेपालको तल्लो क्रम पनि लामो समय टिक्न नसक्दा टोली ४५.४ ओभरमा १४७ रनमा समेटिएको थियो।
ओमानका जय ओडेदरा र हसनैन शाहले तीन–तीन तथा इमरान मोहम्मदले दुई विकेट लिए।
तर, सामान्य लक्ष्य रक्षा गर्ने क्रममा नेपाली बलरले उत्कृष्ट प्रदर्शन गरे। कप्तान सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले तीन–तीन विकेट लिए भने ललित राजवंशी र रोहित पौडेलले दुई–दुई विकेट हात पारे।
ओमानका लागि जतिन्दर सिंहले सर्वाधिक २५ रन तथा जितेन रामानन्दीले १३ रन बनाए। यी दुईबाहेक ओमानका कुनै पनि ब्याटरले दोहोरो अंकको स्कोर बनाउन सकेनन्।
ओमानलाई ६० रनमै समेट्दै नेपालले ८७ रनको फराकिलो जित दर्ता गरेको हो। अब नेपालले उपाधिका लागि दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।


