काठमाडौँ । अभिनेत्री साहारा हाङमा लिम्बुको डेब्यु चलचित्र ‘जलाकी’मा रहेको चरित्र सार्वजनिक भएको छ। कुशे औँसीको अवसर पारेर निर्माण टिमले साहाराको सोलो पोस्टर सार्वजनिक गरेको हो।
पोस्टरमा साहारा मगर समुदायको सांस्कृतिक पहिरनमा देखिएकी छन्। चलचित्रमा उनी आधुनिक सोच र खुला विचार भएकी युवतीको भूमिकामा प्रस्तुत हुँदैछिन्। उनी पोखराकी सफल तथा स्वतन्त्र व्यवसायीकी छोरीको चरित्रमा देखिने निर्माण टिमले जनाएको छ।
सिक्किमकी साहारा ‘मिस टिन इन्डिया २०२२’ तथा ‘मिस टिन २०२२’की विजेता हुन्। उनले ‘मिस टिन युनिभर्स २०२२’मा समेत सहभागिता जनाएकी थिइन्। मण्डला थिएटरमा अभिनय प्रशिक्षण लिएपछि उनी अडिसनमार्फत ‘जलाकी’मा छनोट भएकी हुन्।
तर ‘जलाकी’ साहाराका लागि सामान्य डेब्यु चलचित्र भने रहेन। चलचित्रको छायांकनकै क्रममा कार दुर्घटनामा उनका बुबाको निधन भयो। काठमाडौंमा छायांकनका लागि आउनुअघि बुबासँग भएको भेट नै उनको अन्तिम भेट बन्यो।
चलचित्रमा काम गर्ने अवसर पाएको कुरा सबैभन्दा पहिले बुबालाई सुनाएको साहारा बताउँछिन्। छोरी अभिनेत्री बनेको हेर्ने बुबाको ठूलो चाहना थियो। बुबाले आफू अभिनेत्री बनेर फर्किएपछि स्वागत गर्न आउने बताएको स्मरण गर्दै साहाराले त्यो सपना अधुरै रहेको बताइन्।
बुबाको अन्तिम संस्कार सकेको चार दिनमै उनी पुनः ‘जलाकी’को छायांकनमा फर्किइन्। परिवारले समेत बुबाको सपना पूरा गर्न काममा फर्किन हौसला दिएपछि आफूले कठिन परिस्थितिका बाबजुद छायांकनलाई निरन्तरता दिएको उनले बताइन्।
‘सुटिङ गर्ने अवस्थामा आफू नरहेको’ स्मरण गर्दै साहाराले त्यस समय रातभर निद्रा नलाग्ने र बिहान छायांकनका लागि फोन आउँदा झस्किने गरेको बताइन्। यद्यपि क्यामेराअघि आफ्नो व्यक्तिगत पीडा नदेखियोस् भन्ने प्रयास गर्दै उनले कामलाई निरन्तरता दिइन्।
साहाराका लागि ‘जलाकी’ अहिले एउटा चलचित्रभन्दा बढी बनेको छ। बुबाको सपना पूरा गर्ने माध्यमका रूपमा समेत उनले यसलाई लिएकी छन्। चलचित्रमा आफ्नो चरित्रसँग व्यक्तिगत रूपमा समेत जोडिन सकेको र कथाले आफूलाई सुरुदेखि नै आकर्षित गरेको उनको भनाइ छ।
डेब्यु चलचित्रमा निर्देशक अशोक थापा मगरबाट पाएको साथलाई पनि उनले विशेष रूपमा सम्झिएकी छन्। निर्देशक मगरले आफूलाई नयाँ कलाकार वा ‘आउटसाइडर’का रूपमा व्यवहार नगरी आफ्नै छोरीजस्तै मार्गदर्शन गरेको साहाराले बताइन्।
छायांकार शैलेन्द्र डी. कार्कीसहित सम्पूर्ण निर्माण टिमबाट राम्रो सहयोग पाएको उनको भनाइ छ। निर्माण टिम नै परिवारजस्तो भएकाले पहिलो चलचित्रमा काम गर्दा सहज भएको उनले बताइन्।
‘जलाकी’ आगामी मंसिर ४ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ। ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगरको निर्देशनमा बनेको चलचित्रमा साहारासहित सोनम तोप्देन, उपासना सिंह ठकुरी, शिल्पा मास्के, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, रजनी गुरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्कबहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर र दुइसाङ थिनलगायतको अभिनय रहेको छ।
विशेष भूमिकामा क्याप्टेन विजय लामा तथा बालकलाकारमा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा र रिन्सी धनाहा मगर रहेका छन्।
एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता ओम घर्ती मगर, वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, बेताने मगर (बबिता राना), मानबहादुर धनाह मगर र सुस्मिता बुढाथोकी हुन्। शैलेन्द्र डी. कार्कीले छायांकन गरेको चलचित्रलाई काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रिब्युसनले वितरण गर्नेछ।


