काठमाडौं । चलचित्र ‘बा : एक योद्धा’को प्रदर्शन मिति परिवर्तन भएको छ। भोटेकोशी बाढीका कारण पूर्वनिर्धारित समयमा प्रदर्शन गर्न नसकिएको चलचित्र अब असोज ९ गतेदेखि देशभरका हलमा प्रदर्शन हुने भएको छ।
कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिनको अवसर पारेर निर्माण टिमले नयाँ प्रदर्शन मिति सार्वजनिक गरेको हो। यसअघि बाढी प्रभावितका लागि दुई लाख रुपैयाँ सहयोग गर्दै चलचित्रलाई मंसिर २४ गते प्रदर्शन गर्ने घोषणा गरिएको थियो।
निर्माता वसन्त लम्सालका अनुसार वितरक तथा प्रदर्शकसँगको छलफलपछि चलचित्रलाई असोज ९ गते प्रदर्शन गर्ने निर्णय गरिएको हो। नयाँ मितिमा दर्शक तथा चलचित्र क्षेत्रका सबै पक्षबाट साथ पाउनेमा निर्माण टिम विश्वस्त रहेको उनले बताए।
‘बा : एक योद्धा’ले नेपाली समाजमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर सामना गर्ने चुनौतीलाई कथाको मुख्य विषय बनाएको छ।
हरि लम्सालको लेखन तथा निर्देशन रहेको चलचित्रमा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायत कलाकारको अभिनय रहेको छ।
नेपाली संगीत क्षेत्रमा दर्जनौँ चर्चित गीत दिएका संगीतकार हरि लम्सालले यसै चलचित्रबाट फिचर फिल्म निर्देशनमा डेब्यु गरेका हुन्। कथासँगै चलचित्रको पटकथा पनि उनले नै लेखेका छन्।
आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता वसन्त लम्साल हुन्। अनिल बुढाथोकी कार्यकारी निर्माता, अर्जुन पौडेल लाइन प्रोड्युसर तथा कृष्ण काफ्ले सह–निर्माता रहेका छन्।
शिवराम श्रेष्ठको छायांकन रहेको चलचित्रको मुख्य सहायक निर्देशक तारानाथ न्यौपाने हुन्। चलचित्रलाई आशिष एच. तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ।


