काठमाडौं । ९९औँ एकेडेमी अवार्ड (अस्कर)का लागि नेपालबाट चलचित्र ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ छनोट भएको छ।
द एकेडेमी अफ मोशन पिक्चर आर्ट्स एन्ड साइन्सेसको अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल)ले ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’लाई अस्करको अन्तर्राष्ट्रिय फिचर विधामा नेपालको प्रतिनिधित्वका लागि सिफारिस गरेको हो।
यस वर्ष अस्करमा प्रतिस्पर्धाका लागि नेपालबाट दुई नेपाली कथानक चलचित्रले आवेदन दिएका थिए। ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ र ‘गौँथली’मध्ये समितिले ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’लाई छनोट गरेको हो।
समितिले प्राविधिक पक्ष, कथाको प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण तथा कलात्मक शिल्पलाई आधार बनाएर दुवै चलचित्रको मूल्यांकन गरेको जनाएको छ।

समितिको विज्ञप्तिमा भनिएको छ, ‘प्राप्त दुवै चलचित्रहरूको मूल्यांकन गरी एकेडेमीका मापदण्ड अनुरूप उच्चस्तरीय एवं उत्कृष्ट एक चलचित्र सिफारिस गर्नुपर्ने भएकाले प्राविधिक पक्ष, कथाको प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण र कलात्मक शिल्पलाई ध्यानमा राखी गहन अध्ययनपश्चात् चलचित्र ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’लाई नेपालको तर्फबाट प्रतियोगीका रूपमा छनोट गरिएको हो।’
कान्स फिल्म फेस्टिभलमा जुरी अवार्ड जितेको यो चलचित्र गत शुक्रबारदेखि नेपाली हलमा प्रदर्शन भइरहेको छ।
जंगली हात्तीको आतंकबाट प्रभावित बस्तीमा बसोबास गर्ने अल्पसंख्यक समुदायको कथा प्रस्तुत गर्ने चलचित्रमा पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, महिमा नवबाग, गौरी मल्ल, माओत्से गुरुङ, आकांक्षा कार्कीलगायत कलाकारको अभिनय छ।
अविनाश विक्रम शाहको पटकथा तथा निर्देशन रहेको चलचित्रको कथा अविनाश विक्रम शाह र सन्दीप बादलले तयार पारेका हुन्। नेपालसहित फ्रान्स, जर्मनी, ब्राजिल र नर्वेका निर्माण संस्थाको सहकार्यमा चलचित्र निर्माण भएको हो।
चलचित्रका निर्मातामा नेपालबाट अनुप पौडेल, फ्रान्सबाट जस्टिन पेचबर्टी र डेमियन मेघेर्बी तथा जर्मनीबाट माइकल हेनरिक्स रहेका छन्। सह–निर्मातामा प्रचण्डमान श्रेष्ठ, ब्राजिलबाट तातियाना लेइते, लेओनार्दो मेक्की, पल जिश्लर, भेरोना मेइर स्टोर्म, मार्टिन रेचबक, सुसन्ने मान, कुमुदिनी गुरुङ श्रेष्ठ र सोहम ढकाल रहेका छन्।
चार्ल्स अडिनेट लाइन प्रोड्युसर रहेको चलचित्रका एसोसिएट निर्माता अभिनेत्री केकी अधिकारी, प्रतीक सुवेदी र प्रतिभा जोशी हुन्।
अन्डरग्राउन्ड टकिज नेपालको तर्फबाट सह–निर्मातामा प्रवेश गुरुङ तथा एसोसिएट निर्मातामा आदित्य बस्नेत, अनुज पौड्याल, सन्तोष भट्टराई र बेन्जामिन ग्रुब्स रहेका छन्।


