काठमाडौँ । “चर्किएको यो घरले फेरि सोध्यो… ‘यो दशैँमा पनि तिम्रो सन्तान आएन है आमा?’” भन्ने भावुक स्लोगनसहित चलचित्र ‘आ बाट आमा २’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ। हरितालिका तीजको अवसर पारेर निर्माण टिमले सोमबार चलचित्रको पहिलो झलक सार्वजनिक गरेको हो।
फस्टलुकमा चाडपर्वका बेला नेपाली परिवारले भोग्ने विछोड, परदेशिएका सन्तानको पर्खाइ र बदलिँदो सामाजिक परिवेशलाई भावनात्मक रूपमा प्रस्तुत गरिएको छ। फुटेका सिसा, पुराना तस्बिर तथा परिवारका विभिन्न अवस्थाका दृश्यले चलचित्रको कथाको संकेत दिएका छन्।
पोस्टरमा प्रदीप रावत र विपना थापालाई भावुक अवस्थामा देखाइएको छ। उनीहरूको तस्बिरमाथि उडिरहेको हवाइजहाजले रोजगारीका लागि घर छाडेर विदेशिन बाध्य नेपाली युवाको कथालाई संकेत गर्छ। पल शाह र साइग्रेस पोखरेलका तस्बिरले भने परिवारसँग बिताएका खुसीका क्षण र वर्तमानको दूरीलाई जोडेको देखिन्छ।
दशैँको माहोल झल्काउने अर्को दृश्यमा पल शाह र साइग्रेसलाई टीका र जमरा लगाएर आमासँग देखाइएको छ। उनीहरूलाई अँगालो हालिरहेकी आमाको अनुहारमा भने चाडपर्वको खुसीभन्दा सन्तानप्रतिको माया, थकान र विवशता झल्किन्छ।
पोस्टरमा लिङ्गे पिङसहितको गाउँको दशैँको रौनक पनि समेटिएको छ। पिङमा रमाइरहेका परिवारका सदस्य, आफन्त र गाउँलेको दृश्यसँगै पल शाह र विपना थापाको पारिवारिक सम्बन्धलाई देखाइएको छ। यसैगरी, चाडपर्वकै समयमा परिवारका केही सदस्य खुसी देखिँदा केही पात्र भावुक अवस्थामा रहेको दृश्यले कथामा रहेको पारिवारिक उतारचढावको संकेत गर्छ।
फस्टलुकमा समेटिएको मुख्य स्लोगनले चलचित्रको भावनात्मक केन्द्रलाई स्पष्ट पारेको छ। चाडपर्वमा रित्तिँदै गएका गाउँघर, विदेशिएका सन्तान र उनीहरूको बाटो हेरेर बसिरहेका आमाबुबाको कथालाई ‘आ बाट आमा २’ले पर्दामा ल्याउन खोजेको निर्माण पक्षले जनाएको छ।
चलचित्रमा पल शाह, मलिका महत, रिस्ता गुरुङ, निकिता आचार्य, विपना थापा, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का, दिलीप अखेडालगायत कलाकारको अभिनय रहनेछ।
साहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको चलचित्रका प्रोडक्सन म्यानेजर करणसिंह रसाइली हुन्।
अघिल्लो वर्ष प्रदर्शनमा आएको ‘आ बाट आमा’को सफलतापछि निर्माण भएको यसको सिक्वेललाई चन्द्र पन्तले निर्देशन गरेका हुन्। कथा तथा पटकथा पनि पन्तकै हो।
आर्या इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको चलचित्र असोज ३० गते अर्थात् फूलपातीको अघिल्लो दिनदेखि प्रदर्शनमा आउनेछ। चलचित्रको नेपाल वितरण आरआर फिल्मले गर्नेछ भने डिजिटल अधिकार ओएसआरसँग रहेको छ।


