काठमाडौं । दयाहाङ राई र मिरुना मगर स्टारर नेपाली चलचित्र ‘रातो घेरा–द रेड सर्कल’को छायांकन सम्पन्न भएको छ। काठमाडौंको बानेश्वरस्थित मण्डला थिएटरमा इन्डक्ल्याप गर्दै चलचित्रको छायांकन सकिएको हो।
अनिल बुढा मगरको निर्देशनमा बनेको चलचित्र सत्य घटनामा आधारित रहेको निर्माण पक्षले जनाएको छ। सामाजिक यथार्थ, मानवीय सम्बन्ध र रहस्यलाई कथाको केन्द्रमा राखिएको चलचित्रले सामाजिक तथा भावनात्मक विषयवस्तुलाई रहस्यसँग जोडेर प्रस्तुत गर्ने प्रयास गरेको छ।
चलचित्रमा दयाहाङ राई र मिरुना मगरसँगै सुनिल पोखरेल, भोला राज सापकोटा, माओत्से गुरुङ, कविता आले, रजनी गुरुङ, शेखर चापागाईं, डीबी गुरुङ, बलबहादुर गुरुङ, इन्गी हाप्पो सुनुवार, सुरज तमु, खड्गबहादुर पुन (खबपु), अरुण पुन मगर, सुस्मिता कुँवर, रामबाबु रेग्मी, भावना खपाङ्गी मगर, उमेश सोनम, विजय पौडेल, सुभाषप्रसाद गजुरेल, सुवास सिंह ठकुरी, सञ्जय कुमार, रमिक सिंह ठकुरी र सुनिल तामाङलगायतको अभिनय छ।
जीवन गुरुङ, कविता गुरुङ, भोजेन्द्र गुरुङ (भोज) र सरुन शेरचन चलचित्रका निर्माता हुन् भने सुमन गुरुङ र खेम राना सह–निर्माता छन्। निर्माता जीवन गुरुङका अनुसार सत्य घटनामा आधारित कथालाई भावनात्मक रूपमा प्रभावकारी र प्राविधिक रूपमा उच्चस्तरीय बनाउन निर्माणका क्रममा विशेष ध्यान दिइएको छ।
चलचित्रको कथा तथा पटकथा राजु स्याङताङले लेखेका हुन्। शिशिर बिसंखेको छायांकन रहेको चलचित्रमा मनोज थापा मगर र सागर आलेको संगीत तथा मनोज थापा मगरको पाश्र्व संगीत छ। गीतमा श्रवण मुकारुङ र शिव हमालका शब्द छन्।
गीतमा सागर आले र शान्तिश्री परियारको स्वर रहेको छ भने प्रदीप लामा र जुना सुन्दासको अभिनयसमेत देख्न सकिने निर्माण पक्षले जनाएको छ। गीतको कोरियोग्राफी प्रदीप लामाले गरेका छन्।
जीवन थापाको सम्पादन रहेको चलचित्रमा फिरोज खड्का मुख्य सहायक निर्देशक छन्। अनिल दाहाल र सिर्जना भुजेल सहायक निर्देशक, सन्देश राई प्रोडक्सन म्यानेजर तथा जानकी कडायत कस्ट्युम डिजाइनरका रूपमा आबद्ध छन्।
त्यस्तै विक्रम थापा मेकअप, कल्पना लिम्बु हेयर, कृपा खड्गी आर्ट निर्देशन र रामलाल खड्का प्रोडक्सन डिजाइनमा छन्।
चलचित्रको वितरण अधिकार काफिया फिल्म्सले लिएको छ। निर्माण पक्षका अनुसार ‘रातो घेरा–द रेड सर्कल’ आगामी २०८३ मंसिर १८ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ।


