काठमाडौं । प्रतीक्षित नेपाली चलचित्र ‘ए मेरो हजुर ५’को नियमित छायांकन पशुपतिनाथ मन्दिर क्षेत्रबाट सुरु भएको छ। २५ दिनको सेड्युलसहित शुक्रबारदेखि चलचित्रको नियमित छायांकन सुरु गरिएको निर्देशक तथा अभिनेत्री झरना थापाले जानकारी दिइन्।
यसअघि गत साउन २९ गते ललितपुरस्थित पाटनको बंगलामुखी मन्दिरमा शुभमुहूर्त गर्दै चलचित्रको निर्माण टोली बाजुरा प्रस्थान गरेको थियो। टोलीले बाजुरास्थित बडीमालिका मन्दिर तथा खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रका विभिन्न स्थानमा चलचित्रका केही दृश्य छायांकन गरेको थियो।
बडीमालिकाबाटै चलचित्रको नियमित छायांकन सुरु गर्ने तयारी भए पनि बाजुराका केही स्थानमा दृश्य छायांकन गरेपछि अहिले पशुपतिबाट नियमित छायांकन थालिएको निर्देशक थापाले स्पष्ट पारेकी छन्।
झरना थापाकै निर्देशनमा निर्माण भइरहेको चलचित्रमा अनमोल केसी र सुहाना थापा मुख्य भूमिकामा छन्। अनमोल र सुहानाको यो तेस्रो सहकार्य हो। यसअघि उनीहरूले ‘ए मेरो हजुर ३’ र ‘ए मेरो हजुर ४’ मा सँगै अभिनय गरेका थिए। यी दुई चलचित्रमा उनीहरूको जोडीलाई दर्शकले रुचाएका थिए।
चलचित्रमा अनमोल र सुहानासँगै दिलीप रायमाझी, झरना थापा, सलोन बस्नेत, निरज पन्थी, आशा भुसाललगायत कलाकारको अभिनय रहनेछ।
‘ए मेरो हजुर’को पहिलो शृंखलामा मुख्य भूमिकामा देखिएकी झरना थापा करिब २५ वर्षपछि पाँचौँ शृंखलामा पुनः अभिनय गर्दैछिन्। उनी यसपटक पुरानै भूमिकामा देखिनेछिन् वा नयाँ पात्रका रूपमा प्रस्तुत हुनेछिन् भन्ने कुरा भने निर्माण पक्षले खुलाएको छैन।
चलचित्रको कथा, पटकथा तथा संवाद झरना थापा र सरिन पोखरेलले तयार पारेका हुन्। रामजी लामिछानेको कोरियोग्राफी रहने चलचित्रका गीतमा कल्याण सिंह, आशिष अविरल, कोशिश क्षेत्री, सलिन मगर, एकदेव लिम्बूलगायतको संगीत रहनेछ। संगीत संयोजन उदय राज पौडेलले गर्नेछन्।
चलचित्रको प्रमुख सहायक निर्देशकमा नवराज शर्मा छन् भने अनिल दाहाल र प्रकाश थापा सहायक निर्देशकका रूपमा रहनेछन्। निर्माण सहायकमा रञ्जित कोइराला छन्। कास्टिङ डाइरेक्टरको जिम्मेवारी सरिन पोखरेलले सम्हालेका छन् भने कुमार सिलवाल प्रोडक्सन डिजाइनर हुन्।
पोस्ट–प्रोडक्सन प्रमुख साहिल खान, रङ संयोजनमा राजन मोक्तान, ध्वनि मिश्रणमा उत्तम न्यौपाने, ड्रेस डिजाइनमा सुशिला श्रेष्ठ ओन्टा तथा छारिफ सार्जन ओन्टा र स्टाइलिस्ट तथा मेकअप एन्ड हेयरमा रोनिशा अधिकारी रहेका छन्।
चलचित्रको वितरण काफिया फिल्म्स र कुबेर सिने डिस्ट्रीब्युसनले गर्नेछन्। ‘ए मेरो हजुर ५’ नेपाली नयाँ वर्ष २०८४ को अवसर पारेर देशव्यापी प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ।
‘ए मेरो हजुर’का यसअघिका चारवटै शृंखलाले बक्स अफिसमा सफलता हासिल गरेका थिए। स्वर्गीय निर्देशक शिव रेग्मीले निर्देशन गरेको पहिलो शृंखलापछि दोस्रो भागदेखि झरना थापाले निर्देशनको जिम्मेवारी सम्हाल्दै आएकी छन्। यसपटक भने निर्देशनसँगै झरना आफैं पनि अभिनयमा देखिन लागेकी हुन्।


