काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनमा आधारित बायोपिक चलचित्र ‘म मदनकृष्ण’को छायांकन सुरु भएको छ। शुभमुहूर्त गर्दै शुक्रबारदेखि चलचित्रको औपचारिक छायांकन थालिएको हो।
शुभमुहूर्त कार्यक्रममा चलचित्रका अधिकांश कलाकार तथा निर्माण टोलीको उपस्थिति थियो। पाँचखाल, पनौती र काठमाडौंका विभिन्न स्थानमा चलचित्रको छायांकन गरिने निर्देशक मिलन चाम्सले जानकारी दिए।
छायांकन सुरु भएसँगै निर्माण पक्षले चलचित्रको प्रदर्शन मिति पनि सार्वजनिक गरेको छ। ‘म मदनकृष्ण’ आगामी चैत ४ गतेदेखि नेपालभर प्रदर्शनमा आउने निर्देशक चाम्सले बताए।
“हाम्रो चलचित्र ‘म मदनकृष्ण’ चैत ४ गतेबाट अल नेपाल प्रदर्शनमा आउनेछ,” निर्देशक चाम्सले भने, “हामीले यसअघि ‘अञ्जिला’लाई जसरी दर्शकले रुचाउनुभयो, त्यस्तै यो सिनेमालाई पनि उत्कृष्ट बनाउने प्रयास गर्नेछौँ।”

मदनकृष्ण श्रेष्ठको जीवनमा संघर्ष, सफलता र लामो कलाकारिता यात्रा समेटिएकाले चलचित्रलाई प्रभावकारी बनाउन आफूहरूको टोली प्रतिबद्ध रहेको चाम्सले बताए।
चलचित्रमा मदनकृष्ण श्रेष्ठको भूमिका अभिनेता महेश त्रिपाठीले निर्वाह गर्नेछन्। यस्तै, केकी अधिकारी मदनकृष्णकी श्रीमती यशोदाको भूमिकामा देखिनेछिन्।
हरिवंश आचार्यको भूमिकामा अरुण क्षेत्री प्रस्तुत हुँदैछन् भने उनको जोडीका रूपमा वर्षा राउतले हरिवंश आचार्यकी श्रीमतीको भूमिका निर्वाह गर्नेछिन्। मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको चर्चित कलाकारिता जोडीलाई ‘मह जोडी’का रूपमा चिनिन्छ।

मदनकृष्ण श्रेष्ठको बाल्यकालदेखि सरकारी जागिरे जीवन, हरिवंश आचार्यसँगको सहकार्य, अन्तरजातीय विवाहलगायत जीवनका महत्वपूर्ण घटना तथा सुख–दुःख र संघर्षलाई चलचित्रमा समेटिनेछ।
चलचित्रमा राजाराम पौडेल, किरण केसी, रमेश बुढाथोकी, विनोद न्यौपाने, रुषा न्यौपाने, यमन श्रेष्ठ, देशभक्त खनाल, दिनेश डिसी, कृष्णभक्त महर्जन, सुरज तमु, दीया जिसी, सिर्जना अधिकारी, हिउँवाला गौतमलगायत कलाकारको पनि अभिनय रहनेछ।
भिन्टेज मोसन पिक्चर्सको प्रस्तुतिमा निर्माण हुने ‘म मदनकृष्ण’का निर्माता राजकुमार श्रेष्ठ हुन्। चलचित्रको निर्देशन मिलन चाम्सले गर्दैछन्। चाम्सले यसअघि राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक तथा कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित बायोपिक ‘अञ्जिला’ निर्देशन गरेका थिए।
चलचित्रको काठमाडौं उपत्यकामा रिच इन्टरटेनमेन्टका करण श्रेष्ठ तथा उपत्यकाबाहिर आरआर फिल्म्सका रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्नेछन्।


