काठमाडौं । नेपाल, भुटान र भारतको सहकार्यमा निर्माण भएको जम्बी–हरर चलचित्र ‘टनेल २६ : द कर्स बिनिथ द माउन्टेन’ आगामी असोज २३ गते नेपाल र भुटानका हलमा प्रदर्शन हुने भएको छ। निर्माण पक्षले शनिबार चलचित्रको आधिकारिक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो।
चलचित्रको ट्रेलर भने सेप्टेम्बर २२ अर्थात् असोज ६ गते काठमाडौंमा विशेष कार्यक्रमबीच सार्वजनिक गरिने भएको छ। ट्रेलर सार्वजनिक कार्यक्रममा भुटानबाट चलचित्रका कलाकार तथा निर्माण टोलीसमेत सहभागी हुने निर्माण पक्षले जनाएको छ।
संगय छेल्ट्रिम फिल्म्स र पिक एक्सभी स्टुडियोजको ब्यानरमा निर्माण भएको चलचित्रमा चौधरी ग्रुपका निर्वाण चौधरी, अभिनेता प्रदीप खड्का, भारतीय फिल्ममेकर प्रशान्त कुमार गुप्ता, भुटानी अभिनेता–निर्माता संगय छेल्ट्रिम तथा दोर्जी वाङ्चुकलगायतको सहकार्य रहेको छ।
चलचित्रलाई भुटानको शाही सरकारअन्तर्गतको मिडिया, क्रिएटिभ इन्डस्ट्री तथा इन्टेलेक्चुअल प्रोपर्टी विभागले समेत सहयोग गरेको जनाइएको छ।
सार्वजनिक पोस्टरमा अँध्यारो र रहस्यमय सुरुङ तथा त्यसमा रहेका केही पात्रलाई प्रस्तुत गरिएको छ। ‘द कर्स बिनिथ द माउन्टेन’ अर्थात् ‘पहाडमुनिको श्राप’लाई कथाको मुख्य विषयका रूपमा प्रस्तुत गरिएको चलचित्र जम्बी तथा हरर जनरामा आधारित छ।
डीडी किन्लेको लेखन, निर्देशन तथा सम्पादन रहेको चलचित्रमा संगय छेल्ट्रिम, अनुपविक्रम शाही, अन्ना शर्मा, निदुप दोर्जी, डेकी लामो, फुन्टशोक धोन्डेन र रोशनी दादा मुख्य भूमिकामा छन्।
दोर्जी वाङ्चुक कार्यकारी निर्माता तथा प्रदीप खड्का क्रिएटिभ प्रोड्युसरका रूपमा छन्। प्रदीपका लागि ‘टनेल २६’ चौथो निर्माण सहकार्य हो। यसअघि उनले ‘स्केप’, ‘ठुलो मान्छे’ र ‘एक्लो’ निर्माणमा सहकार्य गरेका थिए।
नेपाल, भुटान र भारतका कलाकार तथा प्राविधिकको सहभागिता रहेको चलचित्रलाई नेपाल र भुटानमा प्रदर्शनपछि अन्तर्राष्ट्रिय बजारमा समेत लैजाने तयारी छ। निर्माण पक्षका अनुसार एसिया तथा उत्तर अमेरिकालगायतका बजारमा अन्तर्राष्ट्रिय वितरण साझेदारमार्फत चलचित्र प्रदर्शन गरिनेछ।
चलचित्रको छायांकन दीर्घ गुरुङ र संगय टी. तेन्जिङले गरेका हुन्। राजु तामाङ एक्सन निर्देशक, कृष्ण शर्मा निर्माण डिजाइनर, पेमा लामो निर्माण व्यवस्थापक तथा ब्लु छेरिङ दोर्जी मेकअप तथा पोसाक विभाग प्रमुखका रूपमा रहेका छन्।
चलचित्रको संगीत तथा ध्वनिसम्बन्धी काम थाइल्यान्डमा गरिएको छ। संगीतकार तेर्डसाक जानपानले पृष्ठभूमि संगीत तयार पारेका छन्। करण थामावोङले ध्वनि डिजाइन तथा पुनः रेकर्डिङ मिक्सिङ सम्हालेका छन् भने रथाकोर्न थोङनुनले संवाद सम्पादन तथा फोलीको काम गरेका छन्। चलचित्रको दृश्य प्रभाव निफान स्टुडियोजले तयार पारेको छ।
नेपाल व्यवस्थापन लिभेन्टस् स्टुडियो प्रालिले गरेको चलचित्रको व्यवस्थापन सन्तोष कुमार कार्कीले सम्हालेका छन्।
‘टनेल २६’को टिजर यसअघि अगस्ट १४ मा सार्वजनिक गरिएको थियो। निर्माण पक्षका अनुसार टिजरले नेपाल र भुटानसँगै युरोप तथा उत्तर अमेरिकाका दर्शक र अन्तर्राष्ट्रिय वितरकको समेत ध्यान खिचेको छ।


