काठमाडौं । रे अफ आर्ट प्रालिको ब्यानरमा निर्माण भएको फिल्म ‘परिवार’को प्रदर्शन मिति तय भएको छ। मदन थापाको निर्देशनमा तयार भएको फिल्म आगामी कात्तिक १३ गतेदेखि प्रदर्शनमा आउने भएको हो।
प्रेम थापा र गणेश उपाध्यायको लेखन रहेको फिल्ममा निरज कँडेलको डीओपी, विशेष महर्जन र जयन्द्र कुँवरको छायांकन तथा एनबी महर्जनको एक्सन निर्देशन रहेको छ।
रमेश शाही निर्माता रहेको फिल्ममा कैलाश रावल कार्यकारी निर्माता तथा आरम्भ रिजाल सह–निर्माताका रूपमा छन्। शाही फिल्म प्रोडक्सन र विशआई फिल्म्ससँगको सहकार्यमा फिल्म निर्माण गरिएको हो।
फिल्ममा कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, विनिता बस्नेत, लुनिभा तुलाधर, लक्ष्मीनाथ तिमिल्सिना, बारिश सोना र प्रियान्शु थापालगायत कलाकारको अभिनय रहेको छ।
‘कहिले श्रीमान्को वार, कहिले श्रीमतीको वार, मिल्दै जाँदा बन्यो परिवार’ भन्ने थिममा निर्माण गरिएको फिल्मको पोस्टरमा कामेश्वरलाई महिलाको अवतारमा प्रस्तुत गरिएको छ भने लक्ष्मीलाई पुरुषको भूमिकामा देखाइएको छ।
कलाकारहरूको फरक अवतारसहित सार्वजनिक पोस्टरले फिल्मको कथावस्तुप्रति दर्शकमा उत्सुकता बढाएको छ। ‘परिवार’ कात्तिक १३ गतेदेखि प्रदर्शनमा आउनेछ।


