काठमाडौं । नेपाली चलचित्र ‘बा : एक योद्धा’ले काठमाडौं बाहिरका दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाएको छ। प्रायः काठमाडौंमा प्रिमियर गरेर मोफसलमा पुग्ने नेपाली चलचित्रको परम्पराभन्दा फरक शैली अपनाउँदै निर्माणपक्षले यसपटक काठमाडौंअघि नै चार प्रमुख सहरमा चलचित्रको प्रिमियर गरेको हो।
‘बा : एक योद्धा’को नेपालगञ्ज, दाङ, धरान र बुटवलमा अडियन्स प्रिमियर सम्पन्न भइसकेको छ। मोफसलका दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएपछि निर्माणपक्ष अब काठमाडौंका दर्शकमाझ चलचित्र प्रस्तुत गर्ने तयारीमा छ। चलचित्रको काठमाडौं प्रिमियर असोज ६ गते गर्ने तयारी गरिएको छ।
निर्देशक हरि लम्सालले मोफसलका दर्शकबाट अपेक्षाभन्दा राम्रो प्रतिक्रिया पाएको बताए। “हामीले जसरी नेपालगञ्ज, दाङ, धरान र बुटवलका दर्शकबाट सोचेभन्दा पनि राम्रो फिडब्याक पाएका छौँ, त्यस्तै प्रतिक्रिया काठमाडौंबाट पनि पाउने अपेक्षा गरेका छौँ,” उनले भने।

प्रिमियरमा चलचित्र हेरेका दर्शकले विशेषगरी बाबुले परिवार र सन्तानका लागि गर्ने त्याग, संघर्ष तथा बाबु–छोरीको सम्बन्धलाई मन पराएको निर्माणपक्षले जनाएको छ।
एक युवतीले चलचित्र हेरेपछि आफ्ना दिवंगत बुवाको सम्झना आएको बताइन्। उनका अनुसार चलचित्रमा देखाइएको बाबुको संघर्षले आफ्नै बुवाको जीवनसँग जोडिएको अनुभूति गराएको थियो।
त्यस्तै, एक युवकले बुवाले गरेको संघर्ष नबुझेका सन्तानले चलचित्र हेर्नुपर्ने प्रतिक्रिया दिए। अर्की दर्शकले सन्तानले बुबाआमाप्रति कहिल्यै घात गर्न नहुने सन्देश चलचित्रले दिएको बताइन्।
दर्शकले बाबु–छोरीको सम्बन्ध र अभिभावकीय जिम्मेवारीलाई चलचित्रले प्रस्तुत गरेको भन्दै सकारात्मक प्रतिक्रिया दिएका छन्। विशेषगरी युवतीहरूले चलचित्रमा प्रस्तुत बाबुको भूमिकाले छोरीप्रतिको सुरक्षात्मक जिम्मेवारीलाई प्रभावकारी रूपमा देखाएको प्रतिक्रिया दिएका छन्।
निर्माता वसन्त लम्सालका अनुसार प्रिमियरमा सहभागी दर्शकले कलाकारहरूको अभिनय र कथावस्तुको प्रशंसा गरेका छन्। उनका अनुसार दिव्यदेवको अभिनय करियरमा चलचित्र महत्वपूर्ण बन्न सक्ने तथा सुहाना थापाको अहिलेसम्मकै फरक भूमिकाका रूपमा दर्शकले लिएको प्रतिक्रिया पाइएको छ।
अडियन्स प्रिमियरमा कलाकार दिव्यदेव, सुहाना थापा, अनिल बुढाथोकी, सुप्रज्ञा शर्मासँगै निर्देशक हरि लम्साल र निर्माता वसन्त लम्साललगायत सहभागी थिए। बुधबार दाङमा चलचित्रको ग्रान्ड प्रिमियर आयोजना हुँदैछ।
असोज ९ गतेदेखि प्रदर्शनमा आउने ‘बा : एक योद्धा’ले नेपाली समाजमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर भोग्ने चुनौतीलाई कथाको मुख्य विषय बनाएको छ।
हरि लम्सालको लेखन तथा निर्देशन रहेको चलचित्र आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो। लम्सालले नै चलचित्रको कथा तथा पटकथा लेखेका हुन्।
चलचित्रमा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायत कलाकारको अभिनय छ।
वसन्त लम्साल निर्माता रहेको चलचित्रमा अनिल बुढाथोकी कार्यकारी निर्माता, अर्जुन पौडेल लाइन प्रोड्युसर तथा कृष्ण काफ्ले सह–निर्माता छन्। शिवराम श्रेष्ठको छायांकन रहेको चलचित्रमा तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक छन्। चलचित्रको वितरण आशिष एच तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले गर्नेछ।


