काठमाडौं । असोज २३ गते नेपालमा प्रदर्शन हुने तयारीमा रहेको जम्बी हरर फिल्म ‘टनेल–२६ : द कर्स बिनिथ द माउन्टेन’को प्रचारप्रसारका लागि भुटानी कलाकार तथा निर्माण टोली नेपाल आइपुगेको छ।
सोमबार बिहान १६ सदस्यीय टोली नेपाल आइपुगेको हो। निर्माणपक्षका अनुसार थप पाँच जना सदस्य पनि नेपाल आउने तयारीमा छन्। यसअघि टिजर सार्वजनिक भइसकेको फिल्मको ट्रेलर मंगलबार काठमाडौंमा आयोजना हुने विशेष कार्यक्रममा सार्वजनिक गरिँदैछ। सोही कार्यक्रममा सहभागी हुन भुटानी टोली नेपाल आएको हो।
टोलीको नेतृत्व फिल्मका निर्माता तथा अभिनेता संगय छेल्ट्रिमले गरेका छन्। उनको स्वामित्वमा रहेको संगय छेल्ट्रिम फिल्म्स पनि फिल्म निर्माणमा सहभागी कम्पनी हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै छेल्ट्रिमले ‘टनेल–२६’ निर्माणमा लामो समय मेहनत गरिएको बताए। उनले नेपाल र भुटानको सहकार्यमा बनेको फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा लैजाने उद्देश्य रहेको उल्लेख गरे।

“धेरै उत्साहित छु। टनेल–२६ हामीले एक वर्षभन्दा बढी मेहनत गरेर बनाएका हौँ। ट्रेलर धेरै राम्रो आएको छ। नेपाल र भुटानको सहकार्य अन्तर्राष्ट्रिय स्तरमा जाने निश्चित भएको छ,” उनले भने।
नेपालको चौधरी ग्रुपसँग सम्बन्धित पिक एक्सभी स्टुडियोज र नेपाली अभिनेता प्रदीप खड्काको सहस्वामित्वमा रहेको ब्यानर पनि फिल्म निर्माणमा जोडिएको छ। नेपाल, भुटान र भारतको सहकार्यमा निर्माण भएको यो फिल्ममा विभिन्न देशका कलाकार तथा प्राविधिकको सहभागिता छ।
फिल्मका लेखक, निर्देशक तथा सम्पादक डीडी किन्लेले पनि चलचित्रको रिलिजलाई लिएर आफू उत्साहित रहेको बताए। “फिल्म अहिले आफ्नो अन्तिम चरणमा छ। कस्तो आउँछ भनेर हामी पनि रोमाञ्चित भइरहेका छौँ। सबैको साथ पाइयो भने यस्ता सहकार्यले फाइदा हुनेछ,” उनले भने।
फिल्ममा भारतीय फिल्ममेकर प्रशान्त कुमार गुप्ता, संगय छेल्ट्रिम र दोर्जी वाङ्चुकसहित विभिन्न निर्माताको सहकार्य रहेको छ। निर्माणपक्षका अनुसार भुटानको शाही सरकारअन्तर्गतको मिडिया, क्रिएटिभ इन्डस्ट्री तथा इन्टेलेक्चुअल प्रोपर्टी विभागको समेत सहयोग रहेको छ।
फिल्मको नेपाल व्यवस्थापन लिभेन्टस् स्टुडियो प्रालिले गरेको हो भने सन्तोष कुमार कार्कीले व्यवस्थापन सम्हालेका छन्।
‘टनेल–२६’मा संगय छेल्ट्रिम, अनुपविक्रम शाही, आना शर्मा, निदुप दोर्जी, डेकी लामो, फुन्टशोक धोन्डेन र रोशनी दादालगायत कलाकार मुख्य भूमिकामा छन्। दोर्जी वाङ्चुक कार्यकारी निर्माता तथा प्रदीप खड्का क्रिएटिभ प्रोड्युसरका रूपमा रहेका छन्।


