काठमाडौं । प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘जदौ’को एक्सटेन्डेड ट्रेलर सार्वजनिक भएसँगै चर्चामा आएको छ। सोमबार सार्वजनिक साढे दुई मिनेट लामो ट्रेलरमा अन्तरजातीय प्रेमसम्बन्धले परिवार र समाजमा पार्ने प्रभावसँगै प्रेम प्राप्तिका लागि पात्रहरूले गर्नुपर्ने संघर्ष र द्वन्द्वलाई प्रस्तुत गरिएको छ।
असोज ९ गते शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आउने चलचित्रलाई अन्जन शर्मा र काजी लिम्बूले निर्देशन गरेका हुन्। चलचित्रमा मुकुन भुसाल, ऋचा शर्मा, नीति शाह, प्रभात पल ठकुरी, विनोद न्यौपाने, खड्गबहादुर पुनलगायत कलाकारको अभिनय रहेको छ।
ट्रेलरमा समावेश संवादले सामाजिक सञ्जालमा समेत चर्चा पाइरहेका छन्। ड्रेस सिलाउन आएकी नीतिलाई मुकुनले ‘म बमबहादुर, थर बर्देवा, गोत्र काश्यप… यहाँको नि ?’ भनेर सोध्दा उनले ‘लुगा सिलाउनलाई जात र थर पनि चाहिन्छ र..?’ भन्ने जवाफ दिन्छिन्। उक्त संवादले चलचित्रको मुख्य विषयवस्तुतर्फ संकेत गर्छ।
त्यस्तै, प्रभात पलले नीतिलाई ‘म बिना एक्लै बाँच्न सक्छौ ?’ भनेर सोधेको दृश्यपछि उनले आमा र दाइसमक्ष आफ्नो पीडा पोख्दै ‘बाँच्न सिक्नुपर्छ, जातको कारणले हाम्रो बिहे हुन सक्दैन रे..’ भनेकी छन्। प्रभातको ‘हो हो हो, म दमई हो..’ भन्ने संवादले पनि चलचित्रमा जातीय विभेद र त्यसले निम्त्याउने पीडालाई देखाएको छ।
लेखकसमेत रहेका निर्देशक काजी लिम्बूले नेपाली समाजमा आफूले देखे–भोगेको जातीय विभेद र कुरीतिविरुद्ध चलचित्रमार्फत आवाज उठाउने प्रयास गरिएको बताएका छन्। अर्का निर्देशक अन्जन शर्माले ‘जदौ’ हेर्ने मात्र नभई महसुस र मनन गर्ने चलचित्र बनेको बताउँदै आएका छन्।
चलचित्रको शीर्ष गीत ‘जदौ हजुर’ पछि ‘तिमीसँग नबोली’ बोलको रोमान्टिक गीत पनि सार्वजनिक भइसकेको छ। त्यस्तै, प्रिति कौरले लेखेको ट्रेलरमा समावेश ‘रागले पोल्यो जातको, चलेन पानी यी हातको..’ बोलको गीतले समेत दर्शकको ध्यान तानेको छ। दर्शकहरूले उक्त गीत पूर्ण रूपमा सुन्न चाहेको प्रतिक्रिया दिएका छन्।
प्रदर्शन मिति नजिकिँदै गर्दा ‘जदौ’को प्रचारप्रसारलाई तीव्र बनाइएको छ। चलचित्रले मनोरञ्जनसँगै सामाजिक विषयलाई समेत उठान गरेको निर्माण पक्षको भनाइ छ।
शान्ति पुडासैनी कार्यकारी निर्माता रहेको चलचित्रका निर्मातामा सृजना शर्मा, मनिष शर्मा र डिल्लीराज पोखरेल छन्। राजाराम सुवेदी, दीपक पोखरेल, नारायण शास्त्री र सुमित्रा देवकोटा सहनिर्माता तथा विमला भण्डारी कन्सेप्ट डिजाइनर हुन्। चलचित्रलाई एनसीजीएनले वितरण गर्दैछ।


