काठमाडौं । नवीन पन्तको लेखन तथा निर्देशनमा बन्न लागेको नेपाली चलचित्र ‘बाकस’मा अभिनेता भोलाराज सापकोटा र अभिनेत्री सुपला सापकोटा अनुबन्धित भएका छन्। उनीहरूलाई अनुबन्ध गरेसँगै निर्माण पक्षले चलचित्रलाई छायांकनमा लैजाने तयारी अघि बढाएको छ।
निर्देशक पन्तका अनुसार चलचित्रको छायांकन दसैँपछि सुरु हुनेछ। कलाकार तथा प्राविधिक टोलीको छनोट अन्तिम चरणमा पुगेको भन्दै उनले बाँकी कामसमेत छिट्टै टुंग्याएर छायांकनमा जाने बताए।
‘फिल्मका लागि कलाकारहरूको टिम करिब–करिब पुग्ने अवस्थामा छ। अझै केही कलाकार तथा प्राविधिकको छनोट अन्तिम टुंगो लगाउने काम भइरहेको छ। तर हामी सबै कुरा छिट्टै मिलाएर दसैँपछि सुटिङमा निस्किन्छौँ,’ निर्देशक पन्तले भने।
यसअघि चलचित्रमा विपना थापा, वर्षा राउत र महेश त्रिपाठी अनुबन्ध भइसकेका छन्। चलचित्रको निर्माण सुजिता चौलागाईंले गर्नेछिन् भने छत्रबहादुर खड्का सह–निर्माता तथा धीरेन्द्र पन्त (धिरु भाइ) कार्यकारी निर्माता रहेका छन्।
‘बाकस’मा दीपक शर्मा र सनम पुरुष राईको संगीत रहनेछ। गीत तथा शब्दमा दीपक शर्मा र निर्देशक पन्तको योगदान रहनेछ। मणि तामाङ मुख्य सहायक निर्देशक, किरण दाहाल द्वन्द्व निर्देशक तथा निर्मल न्यौपाने प्रोडक्सन म्यानेजरका रूपमा जोडिएका छन्।
चलचित्रको प्रदर्शन मिति भने तय भइसकेको छैन। निर्माण पक्षले छायांकन सम्पन्न भएपछि प्रदर्शन मिति घोषणा गर्ने तयारी गरेको छ।


