काठमाडौं । अभिनेता भुवन केसीको निर्देशनमा बनेको चलचित्र ‘बाटुलो जून’ कात्तिक २६ गतेदेखि प्रदर्शनमा आउने भएको छ। निर्माण पक्षले बुधबार नयाँ पोस्टर सार्वजनिक गर्दै चलचित्रको प्रदर्शन मिति घोषणा गरेको हो।
यसअघि दसैँको अवसरमा प्रदर्शन गर्ने तयारी गरिएको चलचित्रलाई एकै समयमा धेरै फिल्म प्रदर्शनमा आउने भएपछि तिहारको मितिमा सारिएको हो। नयाँ प्रदर्शन मिति घोषणा गर्दै निर्देशक भुवन केसीले दसैँमा अन्य चलचित्रको प्रदर्शनसमेत तय भएकाले पर्दा बाँडफाँडमा समस्या आउन सक्ने प्रदर्शक तथा वितरकको सुझावका आधारमा मिति परिवर्तन गरिएको बताएका छन्।
उनले नेपाली चलचित्र उद्योगको हितका लागि चलचित्रहरूबीच भिडन्तभन्दा सहकार्य आवश्यक रहेको उल्लेख गरेका छन्।
सार्वजनिक पोस्टरमा अनमोल केसी र प्रिन्सी खतिवडा प्रेमिल मुद्रामा देखिएका छन्। पोस्टरमा अनमोलको लुक्सले ५० को दशकको झल्को दिन्छ। पृष्ठभूमिमा बलिरहेको लाल्टिन र आकाशमा देखिएको जूनले चलचित्रको प्रेमकथातर्फ संकेत गरेको छ।
सानराइज पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता जीया केसी र भविष्य खड्का हुन् भने विवेक थापा सह–निर्माताका रूपमा छन्। चलचित्रको लेखन सामिप्यराज तिमिल्सेना र सरिन पोखरेलले गरेका हुन्।
चलचित्रमा अनमोल र प्रिन्सीसँगै भुवन केसी, नेन्सी खड्का, प्रकाश घिमिरे, रेअर राई, दीपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरी, शारदा गिरी, लक्ष्मीनाथ तिमिल्सिना, शिशिर शिवाकोटीलगायत कलाकारको अभिनय रहेको छ।
‘बाटुलो जून’ कात्तिक २६ गते अर्थात् १२ नोभेम्बरदेखि देशभरका हलमा प्रदर्शनमा आउनेछ।


