न्युयोर्क । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन न्युयोर्क पुगेका परराष्ट्रमन्त्री शिशिर खनाल उच्चस्तरीय भेटवार्ता र साइडलाइन बैठकमा व्यस्त छन्। उनले विभिन्न देशका समकक्षी तथा उच्च अधिकारीसँग भेट गर्दै नेपालमा हालै आएको भोटेकोशी बाढीपछिको राहत, पुनःस्थापना र पुनर्निर्माणका साथै जलवायु न्यायका विषय उठाइरहेका छन्।
खनालले जापानी विदेशमन्त्री तोसिमीत्सु मोतेगीसँग भेटवार्ता गर्दै बाढीपछि जापानले गरेको सहयोगका लागि धन्यवाद दिएका थिए। मोतेगीले विपद्को तत्कालीन अवस्थादेखि मध्यम तथा दीर्घकालीन पुनःस्थापनासम्म नेपाललाई सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्। नेपाल–जापान दौत्य सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा आगामी नोभेम्बरमा नेपालमा हुने ‘नेपाल–जापान फेस्टिभल’बारे पनि छलफल भएको छ।
त्यसैगरी, खनालले अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरसँग भेटवार्ता गरेका छन्। भेटपछि अमेरिकाले नेपाललाई बाढीपछिको राहत तथा पुनःस्थापनाका लागि थप ३ करोड १० लाख अमेरिकी डलर सहयोग घोषणा गरेको छ। उक्त सहयोगमध्ये १ करोड डलर स्थायी पुल निर्माण, ८० लाख डलर पानी, सरसफाइ, आश्रय तथा अन्य मानवीय सहयोग र १ करोड ३० लाख डलर विपद् व्यवस्थापनका लागि अमेरिकी निर्मित ड्रोनमा खर्च गरिने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।
खनालले भारतका विदेशमन्त्री एस जयशंकरलगायत विभिन्न देशका प्रतिनिधिसँग पनि भेटवार्ता गर्दै नेपालमा भएको विपद्, जलवायु परिवर्तनका प्रभाव र जलवायु न्यायका विषयमा छलफल गरेका छन्। महासभाको साइडलाइनमा उनले विभिन्न बहुपक्षीय तथा मन्त्रीस्तरीय कार्यक्रममा समेत सहभागिता जनाइरहेका छन्।
परराष्ट्र मन्त्रालयका अनुसार खनाल सेप्टेम्बर २० देखि न्युयोर्कमा उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रीस्तरीय छलफलमा सहभागी छन्। प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल भने सेप्टेम्बर २२ मा न्युयोर्क पुगेको हो र प्रधानमन्त्री शाहले सेप्टेम्बर २४ मा महासभाको सामान्य बहसलाई सम्बोधन गर्ने कार्यक्रम छ।


