काठमाडौं । मल्टिस्टारर चलचित्र ‘पाँच पाण्डव’को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ। बिहीबार सार्वजनिक पोस्टरमा चलचित्रका पाँच मुख्य कलाकारलाई महाभारतका पाँच पाण्डवको चरित्रमा प्रस्तुत गरिएको छ।
पोस्टरमा हरिवंश आचार्य युधिष्ठिर, जितु नेपाल भीम, आर्यन सिग्देल अर्जुन, महेश त्रिपाठी नकुल र सुशील सिटौला सहदेवको भूमिकामा देखिएका छन्। घोडाले तानेको सजावटी बग्गीमा पाँचै कलाकारलाई प्रफुल्ल मुद्रामा प्रस्तुत गरिएको पोस्टरले उनीहरूबीचको एकता र भाइचारालाई संकेत गर्छ।
निर्देशक वसन्त निरौलाका अनुसार पोस्टरमार्फत मुख्य पात्रहरूको चरित्र सार्वजनिक गरिएको हो। दर्शकले परिचित कलाकारलाई फरक चरित्रमा देख्न पाउने भएकाले चलचित्रप्रति उत्सुकता बढ्ने निर्माण पक्षको अपेक्षा छ।
काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको चलचित्र तिहारको छेको पारेर आगामी कात्तिक २० गते अर्थात् नोभेम्बर ६ देखि प्रदर्शनमा आउनेछ। हाल चलचित्र पोस्ट प्रोडक्सनको अन्तिम चरणमा छ भने सम्पूर्ण चलचित्र डल्बी एटमस साउन्डमा तयार भइरहेको निर्देशक निरौलाले बताएका छन्।
चलचित्रमा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी, सुशील सिटौलासँगै दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, इभा गिरी र सीता न्यौपानेलगायत कलाकारको अभिनय छ।
प्रस्तुतकर्ता नवीन श्रेष्ठ र निर्माता काली रानी श्रेष्ठ रहेको चलचित्रको कथा, पटकथा तथा संवाद सुशील पौडेलले लेखेका हुन्। सामाजिक कथामा आधारित चलचित्रले महाभारतका पाँच पाण्डवका चरित्र र विम्बलाई प्रयोग गर्दै समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्ने लेखक पौडेलले बताएका छन्।
श्याम तामाङको छायांकन, सुप्रिम पराजुलीको सम्पादन तथा रङ्ग संयोजन, अर्जुन पोखरेलको संगीत, उत्तम न्यौपानेको साउन्ड डिजाइन, सुजिल कर्माचार्यको ब्याकग्राउन्ड म्युजिक र पुकार धिमालको भिएफएक्स रहेको चलचित्रको देशव्यापी वितरण आरआर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले गर्नेछन्।


