काठमाडौं । नेपाली चलचित्र ‘बाः एक योद्धा’ आजदेखि देशभरका हलमा प्रदर्शनमा आएको छ। काठमाडौं, नेपालगञ्ज, दाङ, धरान र बुटवलमा सम्पन्न प्रिमियरमा उत्साहजनक प्रतिक्रिया पाएपछि चलचित्र शुक्रबारदेखि नियमित प्रदर्शनमा आएको हो।
प्रिमियरमा चलचित्र हेरेका दर्शकले दिव्यदेवको अभिनयलाई विशेष रूपमा प्रशंसा गरेका छन्। कतिपय दर्शकले ‘बाः एक योद्धा’ उनको सिने करियरकै महत्वपूर्ण चलचित्र बन्न सक्ने प्रतिक्रिया दिएका छन्। सुहाना थापाको अभिनयलाई पनि दर्शकले अहिलेसम्मकै फरक र प्रभावशाली कामका रूपमा चर्चा गरेका छन्।
चलचित्रले नेपाली परिवारमा सन्तानको भविष्यका लागि बुवाआमाले गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीलाई कथाको केन्द्रमा राखेको छ। विशेषगरी वृद्ध अवस्थामा आफ्नै सन्तानबाट बुवाआमाले भोग्नुपर्ने बेवास्ता, अपमान र पीडालाई पर्दामा प्रस्तुत गरिएको छ।
परिवारभित्रको सम्बन्ध र अभिभावकको त्यागसँग जोडिएको कथावस्तु भएकाले चलचित्रले दर्शकलाई आफ्नै पारिवारिक जीवनसँग जोडिन सक्ने अनुभव दिएको प्रिमियरमा सहभागी दर्शकको प्रतिक्रिया छ।
हरि लम्सालको लेखन तथा निर्देशन रहेको चलचित्रमा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापाको मुख्य भूमिका छ। चलचित्रको कथा र पटकथा पनि लम्सालले नै लेखेका हुन्।
आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्मित चलचित्रका निर्माता वसन्त लम्साल हुन्। अनिल बुढाथोकी कार्यकारी निर्माता, अर्जुन पौडेल लाइन प्रोड्युसर तथा कृष्ण काफ्ले सह–निर्माता रहेका छन्।
शिवराम श्रेष्ठको छायांकन रहेको चलचित्रलाई आशिष एच तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गरेको हो।


