काठमाडौं । एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। शनिबार समूह ‘ए’ को अन्तिम खेलमा घरेलु टोली जापानविरुद्धको खेल वर्षाका कारण पूरा हुन नसकेपछि नेपाल समूह विजेता बन्दै अन्तिम आठमा पुगेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित १५ ओभरमा ४ विकेट गुमाउँदै जापानलाई १५१ रनको लक्ष्य दिएको थियो। तर, नेपालको इनिङ्स सकिएलगत्तै वर्षा भएपछि खेल पुनः सुरु हुन सकेन। त्यसपछि दुवै टोलीले अंक बाँडे।
नेपाल ३ अंकसहित समूह ‘ए’को शीर्षस्थानमा रहँदै क्वार्टरफाइनलमा पुगेको हो। नेपालले यसअघि आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको थियो। अफगानिस्तानले जापानलाई पराजित गरेको थियो। अफगानिस्तान समूहको दोस्रो स्थानमा रहँदै क्वार्टरफाइनलमा पुगेको छ भने जापान प्रतियोगिताबाट बाहिरिएको छ।
नेपालका लागि सन्दीप जोराले सर्वाधिक ५७ रन बनाए। ३२ बल खेलेका उनले ५ चौका र ३ छक्का प्रहार गर्दै अविजित रहे।
लोकेश बमले आक्रामक अर्धशतक बनाए। उनले २२ बलमा ६ छक्का र १ चौकासहित ५२ रन बनाए। बमले इनिङ्सको अन्तिम बलमा अर्धशतक पूरा गरेका थिए।
ओपनर आसिफ शेखले १५ बलमा २१ रन बनाए। कुशल भुर्तेल ४ रनमा आउट हुँदा कुशल मल्ल र गुल्सन झा समान २ रनमा पवेलियन फर्किए।


