काठमाडौं । भदौ २६ गतेदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘पेन्सन पट्टा’ले तेस्रो सातामा पनि दर्शकको राम्रो साथ पाइरहेको छ। चलचित्रले हालसम्म ६ करोड रुपैयाँभन्दा बढीको ग्रस कारोबार गरेको निर्माण पक्षले जनाएको छ।
चलचित्र विकास बोर्डको बक्स अफिस प्रणाली सिनेपाका अनुसार ‘पेन्सन पट्टा’ले पहिलो सातामै ३ करोड ७९ लाख ७६ हजार ७४ रुपैयाँ ग्रस कलेक्सन गरेको थियो। दोस्रो सातामा पनि व्यापारलाई निरन्तरता दिँदै चलचित्रले ६ करोडभन्दा बढीको कारोबार गरेको हो।
तेस्रो सातामा प्रवेश गर्दा पनि चलचित्रप्रति दर्शकको चासो कायमै रहेको निर्माण पक्षको भनाइ छ। तेस्रो हप्ताका लागि ‘पेन्सन पट्टा’ले खल्ती एपमा १०६ शो पाएको छ। काठमाडौं उपत्यकासहित देशका विभिन्न हलमा चलचित्रले राम्रो शो र अकुपेन्सी कायम गरिरहेको जनाइएको छ।
पारिवारिक सम्बन्ध, प्रेम, त्याग, जिम्मेवारी र निवृत्त जीवनसँग जोडिएको कथावस्तु चलचित्रको मुख्य आकर्षण बनेको छ। दर्शकबाट प्राप्त सकारात्मक प्रतिक्रिया तथा सामाजिक सञ्जालमा भइरहेको चर्चाले चलचित्रको व्यापारलाई निरन्तरता दिन सहयोग गरेको निर्माण पक्षको दाबी छ।
व्यापार उत्साहजनक बनेपछि चलचित्रको टोली विभिन्न हलमा पुगेर दर्शकसँग भेटघाट तथा प्रतिक्रिया लिइरहेको छ। नेपालमा राम्रो दर्शकीय साथ पाइरहेको ‘पेन्सन पट्टा’ विदेशका विभिन्न सहरमा समेत प्रदर्शन भइरहेको छ।
माओत्से गुरुङको लेखन तथा निर्देशन रहेको चलचित्रमा दयाहाङ राई, विजय बराल, बुद्धि तामाङलगायत कलाकारको अभिनय छ। निर्माण पक्षले तेस्रो सातामा पनि दर्शकको साथ निरन्तर रहने अपेक्षा गरेको छ।


