काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘बाः एक योद्धा’ले दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाइरहेको छ। चलचित्र हेरेपछि दर्शकले अभिभावकले आफ्ना सन्तानलाई यो चलचित्र देखाउनुपर्ने प्रतिक्रिया दिएका छन्।
विशेषगरी आफ्नो अधिकार खोज्ने तर अभिभावकप्रतिको दायित्व बिर्सने सन्तानका लागि चलचित्रले महत्वपूर्ण सन्देश दिने दर्शकको प्रतिक्रिया छ। अभिभावकले समय निकालेर आफ्ना सन्तानसँगै चलचित्र हेरे त्यसको प्रभाव पारिवारिक सम्बन्धमा समेत पर्न सक्ने उनीहरूको भनाइ छ।
बुवाआमादेखि टाढा रहेका सन्तानले पनि चलचित्र हेर्नुपर्ने प्रतिक्रिया दर्शकबाट आएको छ। चलचित्रले अभिभावकको त्याग र सन्तानप्रतिको जिम्मेवारीलाई भावनात्मक रूपमा प्रस्तुत गरेको दर्शकको भनाइ छ।

‘बाः एक योद्धा’को कथा सन्तानको भविष्यका लागि बुवाआमाले गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीमा केन्द्रित छ। सन्तानका इच्छा पूरा गर्न अभिभावकले गर्ने संघर्षसँगै वृद्ध अवस्थामा उनीहरूले भोग्नुपर्ने दुःख र एक्लोपनलाई पनि चलचित्रले कथामा समेटेको छ।
हरि लम्सालको लेखन तथा निर्देशन रहेको चलचित्रमा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायत कलाकारको अभिनय छ। चलचित्रको कथा र पटकथा लम्सालले नै लेखेका हुन्।
आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता वसन्त लम्साल हुन्। अनिल बुढाथोकी कार्यकारी निर्माता, अर्जुन पौडेल लाइन प्रोड्युसर तथा कृष्ण काफ्ले सह–निर्माता रहेका छन्।


