काठमाडौँ । नेपाल, भुटान र भारतको संयुक्त निर्माणमा बनेको चलचित्र ‘टनेल २६’को ग्रस आम्दानीको २५ प्रतिशत प्रधानमन्त्री विपद् कोषमा प्रदान गरिने भएको छ।
चलचित्रका निर्माता तथा मुख्य कलाकार सांगे छेल्ट्रिमले आफ्नो सेयरसहित चलचित्रको कुल ग्रस आम्दानीको २५ प्रतिशत रकम प्रधानमन्त्री विपद् कोषमा प्रदान गर्ने घोषणा गरेका हुन्। भुटानका सांगेको चलचित्रमा ५० प्रतिशत सेयर रहेको छ। उनले आफ्नो सेयरको आधा रकम तथा चलचित्रको कुल ग्रस आम्दानीको २५ प्रतिशत विपद् कोषमा दिने बताएका छन्।
सांगेले नेपालमा पछिल्लो समय आएको विनाशकारी बाढीबाट आफूहरू पनि दुःखी भएको भन्दै व्यक्तिगत तथा ‘टनेल २६’को तर्फबाट सहयोग गर्न लागेको बताएका छन्। यसअघि भुटानका राजाले समेत नेपालका बाढीपीडितका लागि सहयोग गरिसकेको उनले उल्लेख गरे।
यसैबीच, ‘टनेल २६’का भुटानी कलाकार तथा निर्माण टोलीले गृहमन्त्री सुदन गुरुङसँग भेट गरेका छन्। भेटका क्रममा गृहमन्त्री गुरुङले चलचित्र टोलीलाई सफलताको शुभकामना दिँदै फिल्मले नेपाल, भुटान र भारतबीचको सांस्कृतिक तथा भौगोलिक सम्बन्धलाई प्रस्तुत गर्ने बताए।
गृहमन्त्री गुरुङले चलचित्रको विषयवस्तुलाई पछिल्लो समय सुरुङभित्र मानिसहरू फसेका घटनासँग जोड्दै कठिन परिस्थितिमा फसेका मानिसको संघर्ष र बाँच्नका लागि गरेको प्रयासले यस्ता कथाको महत्व थप उजागर गर्ने धारणा राखेका थिए।
उनले हिमाली क्षेत्रमा बसोबास गर्ने नागरिकले भोग्दै आएका समस्या, कमजोर पूर्वाधार, भ्रष्टाचार तथा जिम्मेवारीको अभावलगायत विषयमा समेत धारणा राखेका थिए।
‘टनेल २६’ असोज २३ गते नेपाल र भुटानमा एकसाथ प्रदर्शनमा आउने तयारीमा छ।
चलचित्रमा नेपालका अभिनेता प्रदीप खड्का र चौधरी ग्रुपका निर्वाण चौधरीले निर्माणमा सहकार्य गरेका छन्। प्रदीप क्रिएटिभ निर्माताका रूपमा रहेका छन्।
सङ्गे फिल्म्स र पिक एक्सभीले प्रस्तुत गरेको चलचित्रको निर्माणमा दोर्जी वाङ्चुक नेतृत्वको डोर्जिस प्रोडक्सन, प्रशान्त कुमार गुप्ता तथा कृष्ण गुप्ताको नेतृत्वको रेल्टिक पिक्चर्स, भुटान सरकारअन्तर्गतको निकाय र निर्देशक डीडी किन्लेको रोलिङ इमेज पिक्चर्सको सहकार्य रहेको छ। चलचित्रका कार्यकारी निर्माता दोर्जी वाङ्चुक हुन्।
फिल्ममा सांगे छेल्ट्रिमसँगै नेपालबाट अनुपविक्रम शाही र आना शर्माको मुख्य भूमिका छ। निदुप दोर्जी, डेकी लामो, फुन्टशोक धोन्डेन र रोशनी दादालगायत कलाकारको पनि अभिनय रहेको छ।


