काठमाडौं । अभिनेत्री पूर्णिका सिजापति चलचित्र ‘हाम्रो सानो घर’मा मुख्य अभिनेत्रीका रूपमा अनुबन्धित भएकी छन्। लेखक तथा निर्देशक सुमन गजमेरको निर्देशनमा निर्माण हुन लागेको चलचित्रमा पूर्णिकाको प्रवेशसँगै कलाकार छनोट प्रक्रिया पनि तीव्र पारिएको निर्माण पक्षले जनाएको छ।
मोडलिङ हुँदै चलचित्र क्षेत्रमा प्रवेश गरेकी पूर्णिका पछिल्लो समय ‘आचार्य’बाट अभिनयमा देखिँदैछिन्। उनले १६ वर्षको उमेरदेखि मोडलिङ सुरु गरेकी थिइन्। ‘फेस अफ टिन २०२१’को उपाधि जितेकी उनले ‘फेस अफ क्लासिक डायमन्ड २०२४’को उपाधिसमेत हासिल गरेकी छन्।
‘हाम्रो सानो घर’मा भने पूर्णिका पहिलोपटक मुख्य भूमिकामा देखिन लागेकी हुन्। चलचित्रले जेनेरेसन–जेड अर्थात् नयाँ पुस्ताको प्रेम, सम्बन्ध, सपना, सामाजिक सोच र जीवनशैलीलाई कथाको केन्द्रमा राख्नेछ। प्रेमकथामार्फत जातीय तथा वर्गीय विभेद, बदलिँदो सामाजिक सोच र युवापुस्ताका आकांक्षालाई समेत चलचित्रले प्रस्तुत गर्ने निर्माण पक्षको भनाइ छ।
चलचित्रको कथा, पटकथा तथा निर्देशन सुमन गजमेरको रहनेछ। मुख्य पुरुष कलाकारसहित अन्य कलाकार तथा प्राविधिक टोलीको छनोट अन्तिम चरणमा पुगेको र मुख्य पुरुष कलाकारको नाम केही समयपछि सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ।
रे अफ आर्ट प्रालिको ब्यानरमा निर्माण हुने चलचित्रको छायांकन दशैंपछि सुरु गर्ने तयारी छ।
‘हाम्रो सानो घर’ गजमेरको पहिलो फिचर निर्देशकीय चलचित्र हो। उनले यसअघि ‘रंगी’, ‘एक्का तीन : च्याप्टर १’ र ‘शेर्वा’ लगायत चलचित्रमा लेखकका रूपमा काम गरेका छन्। त्यस्तै ‘कठपुतली’, ‘बाबरी’, ‘महापुरुष’ र ‘बलिदान’ लगायत चलचित्रमा सहायक निर्देशकका रूपमा समेत काम गरिसकेका छन्।
गजमेरको लेखन तथा निर्देशनमा बनेको लघु चलचित्र ‘बत्तीको पुतली’ विभिन्न अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा छनोट भइसकेको छ।


