काठमाडौँ । गत साउन २२ गतेदेखि देशभर प्रदर्शनमा आएको नेपाली चलचित्र ‘हली’ले प्रदर्शनको ५१औँ दिन पूरा गरेको छ। ५१औँ दिनको अवसरमा शनिबार धनकुटास्थित धनकुटा सिनेमा प्रालिमा विशेष कार्यक्रम आयोजना गरिएको हो।
५१ दिन पूरा गरेको खुसीयालीमा दर्शकसँग प्रत्यक्ष भेटघाट तथा साक्षात्कार गर्न चलचित्रका निर्माताद्वय पूजा गुरुङ र जस्मिन श्रेष्ठसहित कलाकारको टोली धनकुटा पुगेको थियो।
निर्माता पूजा गुरुङले दर्शकको निरन्तर माया र साथका कारण चलचित्रले ५१औँ दिन मनाउन सफल भएको बताइन्। उनले दर्शकलाई प्रत्यक्ष धन्यवाद दिन र खुसी साट्न निर्माण टोली धनकुटा पुगेको जानकारी दिइन्।
‘एउटा हलीले पनि देशको मुहार बदल्न सक्छ’ भन्ने सकारात्मक सन्देश बोकेको चलचित्रले छाउपडी प्रथासँग जोडिएको सामाजिक अन्धविश्वास र कुसंस्कारको कथा प्रस्तुत गरेको छ। चलचित्रमा छाउपडीका क्रममा २१ दिनसम्म बुवा वा पुरुषको अनुहार हेर्न नहुने मान्यताले निम्त्याउने सामाजिक समस्या र त्यसविरुद्धको आवाजलाई कथामा समेटिएको छ।
ओमप्रतिकको लेखन तथा निर्देशन रहेको चलचित्रमा पूजा गुरुङ र जस्मिन श्रेष्ठको संयुक्त लगानी रहेको छ।
चलचित्रमा सरोज खनाल, अरुणा कार्की, प्रमोद दीप, सुजाता थापा, विद्या कार्की, अर्जुन गुरुङ, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले र विशाल पहाडीलगायत कलाकारको अभिनय रहेको छ।


