काठमाडौँ । विनयराज पौडेलको निर्देशनमा निर्माण भएको नेपाली चलचित्र ‘अक्षरा’ असोज २३ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउने भएको छ। प्रदर्शनअघि चलचित्रले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)बाट सबै उमेर समूहका दर्शकले हेर्न मिल्ने ‘युनिभर्सल’ (यू) प्रमाणपत्रसमेत प्राप्त गरेको छ।
‘क्षित बाबु प्रोडक्सन हाउस’को ब्यानरमा निर्माण भएको चलचित्रले छोरीको इच्छाविपरीत अभिभावकले जबरजस्ती विवाह गरिदिँदा परिवारमा उत्पन्न हुने समस्या र त्यसले समाजमा पार्ने प्रभावलाई कथाको मुख्य विषय बनाएको छ।
चलचित्रमा सुशील सिटौला र न्यान्सी खड्का मुख्य भूमिकामा छन्। उनीहरूसँगै सुशील पोखरेल, अंशु महर्जन, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसी, गीता अधिकारीलगायत कलाकारको अभिनय छ।
सोनी थापा (ढुङ्गाना) प्रस्तुतकर्ता रहेको चलचित्रको कथा निर्माता उग्रसेन ढुङ्गानाको हो। पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक पौडेलले तयार पारेका हुन्।
चलचित्रमा दिपेन बस्न्यातको छायाङ्कन, गौतम खड्काको सम्पादन, रामजी लामिछानेको नृत्य निर्देशन तथा कर्णराज गिरीको सङ्गीत छ। चलचित्रलाई नेसनल सिने ग्रुप नेपालका तर्फबाट दीपक दंगालले वितरण गर्दैछन्।


