काठमाडौं । अभिनेत्री रेखा थापा र निर्देशक सबिर श्रेष्ठको सहकार्यमा बनेको चलचित्र ‘छत्तीसको आँकडा’ आगामी मंसिर १७ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ।
अभिनेत्री निरुता सिंहको जन्मदिनको अवसरमा सोमबार रेखा थापाले सञ्चालन गर्दै आएको बीआर क्याफेमा चलचित्रको रिलिज मिति ‘लक’ गरिएको हो।
रेखा फिल्मस् र काइट्स इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको चलचित्रमा रेखा थापा र पूजा शर्मा मुख्य भूमिकामा छन्। चलचित्रको कथाको केन्द्रमा दुई महिला पात्रबीचको द्वन्द्वलाई राखिएको छ।
यसअघि सार्वजनिक पोस्टरमा प्रहरी अधिकारीको भूमिकामा रहेकी रेखाले पूजालाई हत्कडी लगाएको दृश्य सार्वजनिक गरिएको थियो। पोस्टरले चलचित्रको कथाप्रति दर्शकको चासो बढाएको निर्माण पक्षको भनाइ छ।
चलचित्रमा महेश त्रिपाठी, पुष्प खड्का र निरुता सिंहको समेत मुख्य अभिनय रहेको छ। रेखाको जोडीमा महेश त्रिपाठी तथा पूजाको जोडीमा पुष्प खड्का देखिनेछन्। पुष्प र पूजा पहिलोपटक जोडीका रूपमा पर्दामा देखिन लागेका हुन्।
रेखा र निरुताले यसअघि ‘दुई पल’मा सँगै अभिनय गरेका थिए। लामो समयपछि उनीहरू ‘छत्तीसको आँकडा’मार्फत पुनः सहकार्यमा आएका हुन्।
चलचित्रको पहिलो गीत घटस्थापनाका दिन सार्वजनिक गर्ने तयारी निर्माण पक्षको छ। नेपालभर वितरणको जिम्मा आरआर फिल्म्सले लिएको छ।


