काठमाडौँ । यही असोज ३० गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘आ बाट आमा २’को नयाँ गीत ‘अचेल किन कान्छी’ सार्वजनिक गरिएको छ। चलचित्रको प्रचारप्रसारलाई लक्षित गर्दै निर्माण टिमले गीतको भिडियो सार्वजनिक गरेको हो।
डान्सिङ शैलीको गीतको भिडियोमा पल शाह, मलिका महत र आकाश श्रेष्ठसहितका कलाकारलाई सामूहिक नृत्यमा रमाइरहेको देख्न सकिन्छ। सामूहिक विवाहको परिवेशमा तयार पारिएको भिडियोमा दुलाहाहरू समेत छमछमी नाचेका छन्। भिडियोमा देखाइएको विवाहको माहोल र सामूहिक नृत्यले गीतलाई थप रोचक बनाएको छ।
गीतको कोरियोग्राफी गम्भीर विष्टले गरेका हुन्। गीतको शब्द तथा सङ्गीत बाबुल गिरीको रहेको छ भने रवि ओड र गंगा सोनामले स्वर दिएका छन्। सामूहिक स्वरमा शंकरसिंह ठकुरी, प्रेम राई, अञ्जना खतिवडा र सुस्मिता दाहालले साथ दिएका छन्।
निर्माण टिमका अनुसार गीतको भिडियो छायांकन एक दिनअघि मात्रै गरिएको हो। सार्वजनिक भएसँगै गीतको भिडियोले दर्शकको ध्यान तानेको छ। चलचित्रमार्फत पल शाह र मलिका महतले पहिलोपटक सहकार्य गरेका हुन्।
चन्द्र पन्तको कथा, पटकथा तथा निर्देशन रहेको चलचित्रमा पल शाह, मलिका महत, विपना थापा, रिस्ता गुरुङ, निकिता आचार्य, आकाश श्रेष्ठ, सविन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का र दिलीप अखेडालगायत कलाकारको अभिनय छ।
चलचित्रको लेखनमा रोशन भट्ट र चन्द्र पन्तले सहकार्य गरेका छन् भने संवाद रोशन भट्टले लेखेका हुन्। करण सिंह प्रोडक्सन एक्जिक्युटिभ रहेको चलचित्रमा नवराज उप्रेतीको छायांकन, बाबुल गिरीको सङ्गीत, गम्भीर विष्टको नृत्य निर्देशन तथा साहिल खान र मिलन श्रेष्ठको सम्पादन छ।
ओएसआर डिजिटल डिजिटल पार्टनर रहेको चलचित्रलाई आरआर फिल्म्सले नेपालभर वितरण गर्नेछ।


