काठमाडौं, असोज १६ । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा तयार भएको पारिवारिक कमेडी चलचित्र ‘चमेलीको पोइ’ आजदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आएको छ। लामो समयपछि हास्य कलाकार नारायण त्रिपाठीको ठूलो पर्दामा पुनरागमन भएकाले पनि चलचित्रलाई चासोका साथ हेरिएको छ।
करिब दुई दशकपछि अभिनयमा फर्किएका त्रिपाठीले चलचित्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। उनीसँगै सुरक्षा पन्त, मुकुन भुसाल र विल्सन विक्रम राईलगायत कलाकार चलचित्रका प्रमुख भूमिकामा छन्।
चलचित्रमा रविन्द्र झा, अंशु महर्जन, खड्कबहादुर पुन (खबपु), उमेश राई, रजनी गुरुङ, सुनीता सापकोटा, गणेश गौतम, प्रेमदेव गिरी, धनलक्ष्मी बोहरा, श्रेया नारायण, अनुष्का नारायण, मिना आरएल शाही, रितु मल्ल ठकुरी, अनाररत्न बज्राचार्य र विन्दु आचार्यलगायत कलाकारको अभिनय छ।
धनलक्ष्मी सिने मेकर्सको ब्यानरमा निर्माण भएको चलचित्रमा सुनीता सापकोटा र रामनारायण उपाध्याय निर्माता तथा उदयविक्रम राणा, रितु मल्ल ठकुरी र कपिल आचार्य कार्यकारी निर्माता छन्। धनकुमारी श्रेष्ठ (बोहरा) लाइन प्रोड्युसर रहेको चलचित्रमा सुदीप कुँवर, सुमित्रा थापा, नारायण त्रिपाठी, प्रदीपकुमार सापकोटा र यमप्रसाद वली सहनिर्माता छन्।
निर्देशक बोहराको कथामा आधारित चलचित्रको लेखनमा शिवम अधिकारीले सहकार्य गरेका छन्। गीतमा राजनराज शिवाकोटी र आशिष अविरलको संगीत रहेको छ भने कविराज गहतराजले कोरियोग्राफी र कुमार महर्जनले द्वन्द्व निर्देशन गरेका छन्।
मुस्ताङ, पोखरा र काठमाडौंका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रमा सुदीप कुँवर मुख्य सहायक निर्देशक तथा योगेन्द्र कार्की र मार्लभ ढुंगाना सहायक निर्देशकका रूपमा छन्।
चलचित्रलाई आरआर फिल्म्सले देशभर वितरण गरेको छ भने ओएसआर डिजिटल डिजिटल पार्टनरका रूपमा रहेको छ।


