दाङ । सामाजिक कथावस्तुमा निर्माण हुन लागेको नयाँ चलचित्र ‘सिन्दूर’को छायांकन सुरु भएको छ। कस्तुरी प्रोडक्सन प्रालिको प्रस्तुति तथा क्लासिक सिने युनिभर्स प्रालिको सहकार्यमा बन्न लागेको चलचित्रको छायांकन पश्चिम नेपालको दाङबाट सुरु गरिएको हो।
लक्ष्मण सुनारको लेखन तथा निर्देशन रहने चलचित्रमा अभिनेता पुष्प खड्का र अभिनेत्री प्रशंसा रायमाझी मुख्य भूमिकामा देखिनेछन्। निर्माण पक्षका अनुसार चलचित्रको छायांकन एक महिनाको सेड्युल बनाएर सुरु गरिएको हो।

चलचित्रले नेपाली समाजमा महिलाका लागि सिन्दूरको महत्व र त्यससँग जोडिएका सामाजिक तथा भावनात्मक पक्षलाई कथाको केन्द्रमा राखेको छ।
सञ्जीव सार्कीको लगानी रहने चलचित्रका कार्यकारी निर्माता दिनेश सिंह महरा हुन्। लक्ष्मण सुनारले यसअघि निर्देशन गरेका ‘बुलाकी’ र ‘परालको आगो’ चर्चामा आएका चलचित्र हुन्।
संकल्प भुजेलले छायांकन गर्ने चलचित्रमा प्रशान्त शिवाकोटी, श्रीकृष्ण बम मल्ल र दिनेश ढकालको संगीत रहनेछ। प्रकाश हमाल निर्माण प्रमुख तथा करणबहादुर साउद मुख्य सहायक निर्देशकका रूपमा छन्। चलचित्रमा रामजी लामिछानेले नृत्य निर्देशन गर्नेछन्।
कस्तुरी प्रोडक्सन र क्लासिक सिने युनिभर्सको सहकार्यमा निर्माण हुन लागेको ‘सिन्दूर’को थप प्राविधिक तथा कलाकारसम्बन्धी विवरण निर्माण पक्षले क्रमशः सार्वजनिक गर्ने जनाएको छ।


