काठमाडौं । चलचित्र ‘गौंथली’ले प्रदर्शनको ७५ दिन पूरा गरेको छ। साउन १ गतेदेखि प्रदर्शनमा आएको चलचित्र बिहीबार अर्थात् असोज १५ गतेदेखि ७६औँ दिनमा प्रवेश गरेको हो।
निर्माता सुमन गिरीका अनुसार चलचित्रले हालसम्म २६ करोड रुपैयाँ ग्रस कलेक्सन गरिसकेको छ। यस अवधिमा ‘गौंथली’का ९ लाख ४३ हजार ३३१ वटा टिकट बिक्री भएका छन्।
चलचित्र विकास बोर्डको सिनेपाः विवरणअनुसार असोज ११ गतेसम्म ‘गौंथली’ले २५ करोड ९५ लाख ८४ हजार ६४० रुपैयाँ ग्रस कलेक्सन गरेको थियो। त्यसपछि पनि प्रदर्शनलाई निरन्तरता दिँदै चलचित्रले २६ करोडको आँकडा पार गरेको निर्माण पक्षले जनाएको छ।
व्यावसायिक रूपमा सफल बनेको ‘गौंथली’ नेपाली चलचित्र उद्योगमा सर्वाधिक कमाइ गर्ने चलचित्रको सूचीमा दोस्रो स्थानमा पुगेको निर्माण पक्षको दाबी छ। ‘पूर्ण बहादुरको सारङ्गी’पछि ‘गौंथली’ सबैभन्दा धेरै कमाउने नेपाली चलचित्र बनेको बताइएको छ।
डा. कपिल रिजालको निर्देशनमा बनेको चलचित्रमा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना र लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय रहेको छ।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको चलचित्रकी कार्यकारी निर्माता सरला रिजाल हुन्। निर्माता सुमन गिरी र डा. कपिल रिजाल रहेका छन्।


