काठमाडौं । निर्देशक तथा अभिनेता माओत्से गुरुङको चलचित्र ‘पेन्सन पट्टा’ प्रदर्शनको चौथो हप्तामा प्रवेश गरेको छ। भदौ २६ गतेदेखि प्रदर्शनमा आएको चलचित्रले चौथो हप्तासम्म पनि दर्शकको साथ र उल्लेख्य शो संख्या कायम राखेको छ।
निर्माण पक्षका अनुसार चलचित्रले हालसम्म ८ करोड ५० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ। चौथो हप्ताको पहिलो दिन शुक्रबार ‘पेन्सन पट्टा’ले खल्ती एपमा ९२ शो पाएको छ।
नयाँ चलचित्रहरू लगातार प्रदर्शनमा आइरहे पनि ‘पेन्सन पट्टा’ले आफ्नो शो र दर्शकको उपस्थितिलाई निरन्तरता दिएको निर्माण पक्षको भनाइ छ। चौथो हप्तामा समेत नयाँ रिलिज भएका चलचित्रको तुलनामा करिब तीन गुणा बढी शो पाउनु उपलब्धिका रूपमा लिइएको छ।
मण्डला थिएटरमा कलाकारसँग प्रत्यक्ष भेटघाट
चौथो हप्तामा प्रवेश गरेको अवसरमा चलचित्रको सम्पूर्ण टिम शुक्रबार काठमाडौंमा भेला भएको छ। मण्डला थिएटरमा आयोजित ‘मिट एन्ड ग्रीट’ तथा पत्रकार भेटघाट कार्यक्रममा कलाकार र निर्माण टिमले चलचित्रको सफलता, दर्शकको प्रतिक्रिया तथा निर्माण अनुभवबारे सञ्चारकर्मीसँग कुराकानी गरे।
रिलिजको चौथो हप्तामा पुगेपछि सम्पूर्ण टिम एकसाथ काठमाडौंमा भेला भएर पत्रकारसँग भेटघाट गरेको यो पहिलो कार्यक्रम भएको निर्माण पक्षले जनाएको छ।
‘मेहनत गरेर बनाएको फिल्म चल्दो रहेछ’ : माओत्से
कार्यक्रममा निर्देशक, अभिनेता तथा निर्माता माओत्से गुरुङले चलचित्रको सफलताले आफूहरूको मेहनतलाई प्रमाणित गरेको बताए।
दुःख र मेहनत गरेर बनाएको चलचित्रलाई दर्शकले माया र साथ दिँदा आफूहरू उत्साहित भएको उनको भनाइ थियो। चौथो हप्तासम्म पनि दर्शकको साथ पाउनु निर्माण टिमका लागि ठूलो उपलब्धि भएको उनले बताए।
‘स्टारडमभन्दा कथा बलियो हुन्छ’ : दयाहाङ
कार्यक्रममा अभिनेता दयाहाङ राईले चलचित्र सफल बनाउन कलाकारको स्टारडमभन्दा कथा महत्वपूर्ण हुने बताए।
उनका अनुसार कलाकारलाई स्टार बनाउने आधारसमेत कथा नै हो। “कथाले नै कलाकारलाई स्टार बनाउने भएकाले अन्ततः कथा नै बलियो हुन्छ। कथा बलियो भएपछि फिल्म चल्छ। स्टारडमले फिल्मलाई केही हदसम्म सपोर्ट गर्ने मात्र हो,” उनले भने।
भदौ २६ गतेदेखि प्रदर्शनमा आएको ‘पेन्सन पट्टा’ले पहिलो सातादेखि नै दर्शकको साथ पाउँदै आएको छ। दोस्रो र तेस्रो सातामा समेत चलचित्रले राम्रो शो संख्या कायम राखेको थियो। चौथो हप्ताको पहिलो दिन ९२ शो पाएसँगै चलचित्रको प्रदर्शन यात्रा अझै निरन्तर रहेको निर्माण पक्षले जनाएको छ।


