काठमाडौं । नेपाली चलचित्र ‘हिमालयन गोल्ड’ भारतभर प्रदर्शन हुने भएको छ। चलचित्रले भारतको प्रतिष्ठित वितरण कम्पनी ‘एए फिल्म्स’सँग भारतभर प्रदर्शनका लागि सम्झौता गरेको हो।
धिराज राजवंशीको निर्देशनमा तयार भएको चलचित्र आगामी मङ्सिर ४ गते (नोभेम्बर २०) नेपालसँगै भारतमा प्रदर्शनमा आउने तयारीमा छ। मुम्बईमा ‘एए फिल्म्स’का संस्थापक तथा वितरक अनिल थडानीसँग चलचित्रको औपचारिक सम्झौता सम्पन्न भएको निर्माण पक्षले जनाएको छ।
‘एए फिल्म्स’ले ‘दिलवाले दुल्हनिया ले जाएंगे’, ‘बाहुबली’, ‘आरआरआर’, ‘केजिएफ: च्याप्टर २’, ‘पुष्पा’ र ‘कान्तारा’ लगायतका चलचित्र वितरण गरिसकेको छ।
भारत रिलिजबारे प्रतिक्रिया दिँदै अनिल थडानीले उत्कृष्ट कथावस्तुलाई भाषा र भूगोलको सीमाभन्दा माथि उठाएर भारतीय दर्शकमाझ पुर्याउने उद्देश्यअनुसार ‘हिमालयन गोल्ड’सँग जोडिएको बताएका छन्। उनले चलचित्रको कथावस्तु भारतीय दर्शकले पनि रुचाउने विश्वास व्यक्त गरेका छन्।
चलचित्रको भारतमा प्रदर्शनको अवसरलाई निर्देशक धिराज राजवंशीले आफ्नो करिअरकै महत्वपूर्ण उपलब्धिका रूपमा लिएका छन्। उनले ‘हिमालयन गोल्ड’को सम्भावनालाई विश्वास गरेर भारतभर प्रदर्शनको अवसर दिएकोमा अनिल थडानी र ‘एए फिल्म्स’प्रति आभार व्यक्त गरेका छन्।
चलचित्रमा सुनिल थापा, राहुल एन. मुखिया, परीक्षा लिम्बू, सजन थापा र कर्मा शाक्यको मुख्य अभिनय रहेको छ। निर्माण पक्षका अनुसार यो दिग्गज अभिनेता सुनिल थापाको अन्तिम चलचित्र हो। थापाको अन्तिम प्रस्तुतिलाई नेपाल र भारतका दर्शकमाझ पुर्याउनु उनको योगदानप्रतिको सम्मान हुने निर्देशक राजवंशीले बताएका छन्।
चलचित्रको बहुप्रतीक्षित ट्रेलर आगामी सोमबार सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ। प्रदर्शन मिति नजिकिँदै जाँदा निर्माण टिमले नेपाल र भारतका दर्शकलाई सिनेमा हलमा पुगेर चलचित्र हेर्न आह्वान गरेको छ।


