काठमाडौं । ‘कबड्डी’का अघिल्ला शृंखलाको मुख्य कथा काजीले मैयाँलाई पाउन गरेको संघर्षमा केन्द्रित थियो । तर पाँचौँ शृंखलामा आइपुग्दा काजीको जीवनमा प्रश्न फेरिएको छ—प्रेम पाएपछि जीवन कसरी चलाउने ?
अभिनेता दयाहाङ राईका अनुसार ‘कबड्डी ५ः फाइनल म्याच’ले यही प्रश्नको व्यावहारिक पाटो खोजेको छ । प्रेम प्राप्तिपछि सुरु हुने जीवनमा काजीले परिवार, समाज, साथीभाइ र व्यक्तिगत जिम्मेवारीका लागि गर्नुपर्ने सम्झौतालाई यसपटक कथाको महत्वपूर्ण हिस्सा बनाइएको उनले बताए ।
रामबाबु गुरुङको निर्देशनमा बनेको चलचित्र आगामी कात्तिक ६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ । पाँचौँ शृंखलामा काजीको प्रेमकथा नयाँ मोडमा पुग्ने दयाहाङले बताएका छन् । उनका अनुसार यसपटक काजीको जीवनमा प्रेमसँगै परिवार, समाज, साथीभाइ र बदलिँदो समयको प्रभाव देखाइनेछ ।
‘प्रेम प्राप्तिको संघर्षबाट अघि बढिसकेको काजीको जीवनमा अब प्रेमसँगै परिवार, समाज, साथीभाइ र व्यक्तिगत जिम्मेवारीको प्रभाव दर्शकले देख्न पाउनुहुनेछ,’ दयाहाङले भने, ‘प्रेम पाएपछि त्यसको व्यावहारिक पाटो पनि हुन्छ । त्यही पाटो हेर्न नै ‘कबड्डी ५’ बनेको हो ।’
उनका अनुसार पहिलो भागदेखि पाँचौँसम्म आइपुग्दा काजीको चरित्रसँगै उसको जीवन भोगाइ पनि क्रमशः परिवर्तन भएको छ । त्यसैले यसपटक दर्शकले विगतका भागमा देखिएको काजीभन्दा केही फरक रूप पाउनेछन् ।
मैयाँ फर्किएपछि काजीमा आउने हलचल
‘कबड्डी’ शृंखलाको सुरुदेखि नै मैयाँसँगको सम्बन्ध कथाको महत्वपूर्ण पक्ष रहँदै आएको छ । पाँचौँ भागमा फेरि मैयाँसँगको भेट हुँदा काजीको मनमा पुरानो प्रेमले हलचल ल्याउने दयाहाङ बताउँछन् । तर यसपटक काजीको प्राथमिकता पहिलेको जस्तो केवल प्रेम प्राप्तिमा सीमित नरहेको उनको भनाइ छ ।
‘यसपटक एउटा इनर्जी, उमेर, आफ्नोपनभन्दा पनि परिवार, समाज, साथीभाइ धेरै चिजसँग काजीले सम्झौता गर्छ । किनभने त्यहाँ उसको सपना जोडिएर गएको छ,’ उनले भने, ‘हिजो प्रेम प्राप्त गर्नु थियो, यसपटक उसले धेरै चिजसँग सम्झौता गरेर जान्छ ।’
आफ्नो ‘सोल्टिनी’ अर्थात् मैयाँ जीवनमा फेरि फर्किएपछि काजीमा आउने भावनात्मक हलचल स्वाभाविक रहेको उनको भनाइ छ ।
‘एउटा उमेरसम्म यो चिज मेरा लागि केही होइन, मलाई आफ्नो निर्णय गर्न देऊ भन्ने हुन्छ । एउटा समय पार गरेपछि उसलाई परिवार, साथीभाइ र समाज पनि चाहिन्छ,’ दयाहाङले भने, ‘त्यो सबै चिजसँग उसले ट्याकल गर्दै जाँदा सम्झौता पनि गर्दै जानेछ ।’
काजीको जीवनमा राजनीतिक परिवर्तनको प्रभाव
‘कबड्डी ५’मा काजीको व्यक्तिगत जीवनसँगै बदलिँदो राजनीतिक परिवेशको प्रभावसमेत देख्न सकिने दयाहाङले बताएका छन् । यद्यपि, यसपटक राजनीतिक विषयलाई नै कथाको केन्द्रमा नराखिएको उनको भनाइ छ ।
‘पछिल्लो समयको राजनीतिले गर्ने असर, राजनीतिक परिवर्तनसँगै आउने अपेक्षाहरू र परिवर्तनपछिका सपनाहरूको प्रभाव देख्न सकिन्छ,’ उनले भने, ‘तर दोस्रो भागमा जसरी हामीले राजनीतिक विषय नै उठाएका थियौँ, त्यस्तो विषयचाहिँ समेटिएको छैन । दर्शकले अहिलेको अवस्थामा समयसँगै आएको परिवर्तनसँगको काजीको मनोदशा भने देख्न सक्नेछन् ।’
अघिल्ला शृंखलामा जस्तै यसपटक पनि साथीहरूको उक्साहटले काजीको जीवनमा पार्ने प्रभाव के हुन्छ भन्ने कुरा भने चलचित्र प्रदर्शनपछि मात्रै थाहा हुने दयाहाङले बताए ।
‘पाँचौँ भागसम्म आइपुग्दा काजी मेरै साथी जस्तो लाग्छ’
काजीको चरित्रसँग लामो समयदेखि जोडिएका दयाहाङले आफूलाई यो पात्रप्रति छुट्टै अपनत्व महसुस हुने बताएका छन् ।
करिब १५ वर्षदेखि काजीको चरित्रसँग काम गर्दै आउँदा त्यो पात्र पर्दाको चरित्रभन्दा पनि आफ्नै साथी जस्तो लाग्न थालेको उनले बताए ।
‘यतिका वर्ष गरिसक्दा काजी क्यारेक्टर छोड्छु जस्तो लाग्दैन, तर नजिकको साथी जस्तो आभास हुन्छ,’ उनले भने ।
उनले ‘कबड्डी’को दोस्रो भागमा काजीको चरित्रलाई कसरी अगाडि बढाउने भन्ने विषय आफूलाई निकै चुनौतीपूर्ण लागेको स्मरणसमेत गरे । तर लामो यात्रामा पात्रलाई हेर्दा मानिसको जीवनमा आउने परिवर्तनसँगै काजीलाई पनि अगाडि बढाउँदै लगेको उनको भनाइ छ ।
‘दोस्रो भाग गर्दा चाहिँ मलाई निकै कठिन भएको थियो । काजी क्यारेक्टर कसरी अगाडि बढ्छ भनेर,’ उनले भने, ‘तर एउटा जर्नीमा उभिएर हेर्दा हाम्रो जीवनमा जसरी परिवर्तन आउँछ, त्यसरी नै अगाडि लगेको छु ।’
पहिलोदेखि पाँचौँ भागसम्म आइपुग्दा काजीले भोगेको १५ वर्षको जीवनयात्रासँग काम गर्न आफूलाई रमाइलो लागेको दयाहाङले बताए ।
काजीको कथा अझ परसम्म लैजाने सोच
काजीसँगको लामो सम्बन्धकै कारण भविष्यमा यी पात्रहरूको कथा अझ परसम्म लैजाने सोचसमेत आफूमा रहेको दयाहाङले सुनाए ।
‘यिनै पात्रहरूको ६५ वर्षपछिको मनोदशा कस्तो हुन्छ होला ? सबै पात्रहरू कहाँ के गरिरहेका होलान् ? भन्ने तरिकाले बनाउन मन छ,’ उनले भने ।
निर्देशक रामबाबु गुरुङले नगरे पनि आफूले त्यस्तो कथा बनाउने सोच राखेको दयाहाङको भनाइ छ ।
‘रामबाबुले नगरे पनि म गर्छु भन्ने सोच छ,’ उनले भने ।
लामो समय एउटै पात्रसँग काम गर्दा पात्रप्रति मोह जाग्ने र आफ्नै साथी जस्तो अनुभूति हुने उनले बताए ।
‘१५ वर्ष अघिदेखिको काजी पात्रसँगको कनेक्सन र हाम्रो भोगाइले पनि होला, काजी पात्रहरूप्रति एकदमै मोह जाग्ने रहेछ,’ उनले भने, ‘काम गर्दै जाँदा त्यो पात्रप्रति माया लागेर आउने रहेछ, काजी अहिले हाम्रै साथीजस्तो फिल हुने हुन्छ ।’
यस्तो छ ‘कबड्डी ५’को टिम
निर्देशक रामबाबु गुरुङकै कथा रहेको चलचित्रमा दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, विपीन कार्की, मिरुना मगर, सिर्जना गुरुङ र रिश्मा गुरुङ मुख्य भूमिकामा छन् ।
सहायक भूमिकामा पुस्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, विष्णु मोक्तान, प्रमिला राई, सुरज यादव, रमेश बज्राचार्य, हरि मिजर, पञ्च सुब्बा गुरुङ, घनु जोशी, सुमित्रा पेहिम, अनुप न्यौपाने, मधु मिजार, हेमन्त बुढाथोकी, विक्रम श्रेष्ठ, सरोज अर्याल र शेखर चापागाईंको अभिनय छ ।
बाँसुरी फिल्म्सको प्रस्तुतिमा बनेको चलचित्रमा निर्देशक गुरुङसहित मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी)को लगानी छ । सागर राज कार्यकारी निर्माता रहेको चलचित्रमा कालीप्रसाद बास्कोटा, अधा सुर र झुमा लिम्बूको संगीत, सञ्जय लामाको छायांकन तथा सुरेन्द्र पौडेलको सम्पादन रहेको छ ।
मुख्य सहायक निर्देशकमा सोमनाथ खनाल र तारानाथ न्यौपाने छन् । चलचित्रको नेपाल वितरण ब्यांकटेश इन्टरटेनमेन्ट एन्ड टी फल्कले गर्नेछ भने विदेशी वितरणको जिम्मा सेभेन सिज इन्टरनेसनलले लिएको छ ।


