काठमाडौँ, असोज २३ गते । भोटेकोशी–त्रिशूली हिमबाढी र असोज दोस्रो साताको अविरल वर्षाका कारण क्षतिग्रस्त अधिकांश राजमार्ग तथा सडक पुनः सञ्चालनमा आएका छन् । आउनै लागेका ठुला चाडपर्वलाई लक्षित गर्दै सरकारले युद्धस्तरमा मर्मतको काम अगाडि बढाएपछि अवरुद्ध राजमार्ग तथा सडक सञ्चालनमा आएका हुन् ।
असोज ८ देखि ११ गतेसम्मको देशव्यापी वर्षाले देशका बाँकी भूभागमा थप क्षति पुर्याएको थियो । बाढी, पहिरो र सडक कटानका कारण सडक सञ्जाल अवरुद्ध बनेपछि आवतजावत र खाद्यान्न ढुवानीमा असर परेको थियो ।
सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता शुभराज न्यौपानेले भदौ र असोजको बाढीबाट क्षतिग्रस्त अधिकांश सडक तथा राजमार्गमा यातायात सञ्चालन भइसकेको र बाँकी रहेका सडक तथा राजमार्गमा यातायात सञ्चालनका लागि तीव्र गतिमा काम भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार बाढीपहिरोले क्षतिग्रस्त पृथ्वी राजमार्ग, बिपी राजमार्ग, कान्तिपथ, अरनिको राजमार्ग, त्रिभुवन राजपथ पुनः सञ्चालनमा आइसकेका छन् । त्यसै गरी भोटेकोशी–त्रिशूली हिमबाढीकै कारण ठप्प रहेको गल्छी–वेत्रावती सडकखण्डमा यातायात पुनः सञ्चालनमा आइसकेको छ ।
हिमबाढीले रसुवा, नुवाकोट, धादिङ, चितवनलगायत जिल्लाका सडक पूर्वाधारमा क्षति पुर्याएको थियो । हिमबाढीले भोटेकोशी–त्रिशूली कोरिडोरका मुख्य सडक तथा पुलहरू बगाएको थियो । हिमबाढीले मुख्य पासाङ ल्हामु राजमार्ग क्षतिग्रस्त बनाएपछि वैकल्पिक मार्गका रूपमा काठमाडौँ–टोखा–छहरे–गड्खार पुल–आप्प्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड मर्मत गरी चारचक्के साना सवारीसाधनका लागि खुला गरिएको छ ।
हिमबाढीले बगाएको गल्छी–वेत्रावती खण्डमा नयाँ ट्र्याक खोली रसुवालाई पुनः सडक सञ्जालमा जोडिएको छ । यस खण्डमा बेलिब्रिज राख्ने काम चलिरहेको छ । त्यसै गरी नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो सफा गरेर यातायात पूर्ण रूपमा सञ्चालन गरिएको छ ।
असोज दोस्रो साता रोशी खोलाको बाढीले क्षति पुगेको बिपी राजमार्गका विभिन्न ठाउँ (चौकीडाँडा, कटुन्जे, पिप्ले, माम्ती आदि) मा अस्थायी डाइभर्सन र वैकल्पिक ट्र्याक निर्माण गरी सवारी सञ्चालन सुरु गरिएको छ तर सुरक्षाका कारण रात्रिकालीन समय (बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म) मा सवारी चलाउन रोक लगाइएको छ ।
कालीगण्डकी कोरिडोर अन्तर्गत
नवलपरासीपूर्वको बौदीकाली गाउँपालिका–३ जन्ती पहिरो क्षेत्र र बागलुङको बेलबगर क्षेत्रमा सडक खुलाएर एकतर्फी सञ्चालनमा ल्याइएको छ । असोज १८ गतेको बाढीपहिरोले अवरुद्ध बनाएको बेँसीसहर–खाङ्सार सडकखण्ड (मनाङ) मा तत्काल मर्मत गरी एकतर्फी रूपमा सवारी सञ्चालनमा ल्याइएको छ । पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभिर, गजुरी, परेवाभिरलगायत ठाउँमा खसेका पहिरो हटाएर सडकलाई सञ्चालनमा ल्याइएको छ ।
बाढीले सडक र सञ्चार पूर्वाधारमा ठुलो धक्का दिए पनि सरकारी निकाय, स्थानीय तह र सुरक्षा निकायको संयुक्त प्रयासका कारण क्षतिग्रस्त सडक क्रमिक रूपमा सञ्चालनमा आउँदा आमनागरिकले राहत महसुस गरेका छन् । चाडपर्वमा यात्रुहरू अलपत्र नपरून् र अत्यावश्यक सामग्रीको ढुवानी नरोकियोस् भनी मर्मत कार्यलाई तीव्र पारिएको प्रवक्ता न्यौपानेले जानकारी दिनुभयो ।
भदौ १० गते आएको लेदोसहितको हिमबाढीले रसुवा र नुवाकोट जोड्ने वेत्रावती खण्ड, मैलुङ–स्याफ्रुबेँसी तथा धुन्चे जोड्ने राजमार्गका विभिन्न भाग बगाएको थियो । डिभिजन सडक कार्यालय तथा नेपाली सेनाको निरन्तरको प्रयासपछि गल्छी–वेत्रावती सडकखण्डको नयाँ ट्र्याक खोलिसकिएको उहाँले जानकारी दिनुभयो ।
आइतबारदेखि सञ्चालनमा आउने
प्रवक्ता न्यौपानेले बाढीले क्षतिग्रस्त कालीगण्डकी कोरिडोर अन्तर्गत अवरुद्ध रहेका मालढुङ्गादेखि जोमसोमसम्मको सडक आइतबारदेखि सञ्चालनमा आउने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिले कालीगण्डकी कोरिडोर अन्तर्गत अवरुद्ध रहेका मालढुङ्गादेखि जोमसोमसम्मको सडक खुलाउने काम भइरहेको छ ।”
उहाँका अनुसार सडक डिभिजन कार्यालयहरू र सुरक्षा निकायका टोलीहरू अवरुद्ध सडक खण्डहरू खुलाउन भारी उपकरणसहित अहोरात्र खटिएका छन् । सरकारले दसैँअघि नै सबै सडकमा यातायात सञ्चालन गराउने लक्ष्य राखेको छ । अहिले वेत्रावतीमा बेलिब्रिज जडान कार्य तीव्र गतिमा भइरहेको जानकारी दिँदै उहाँले भन्नुभयो, “बेलिब्रिज जडान भइसकेपछि धुन्चेसम्म यातायात सञ्चालनमा आउँछ । स्याफ्रुबेँसीदेखि रसुवागढी नाकासम्म सडक सञ्चालनमा आउन बाँकी रहन्छ । रसुवागढी नाकासम्म सडक सञ्चालनको प्रयास भइरहेको छ तर हिमाली तथा पहाडी भूभागमा अझै पनि सुक्खा पहिरो खस्ने जोखिम कायमै हुनु र नदीको बहाब पूर्ण रूपमा नघट्नु मुख्य चुनौती बनेका छन् ।”
आपूर्ति सहज हुने विश्वास
सडक विभागका अनुसार सडक पूर्ण रूपमा पूर्ववत् अवस्थामा फर्कन केही समय लागे पनि यात्रुहरू उपत्यका वा मुख्य सहरबाट घर जान नपाउने वा खाद्यान्न ढुवानी रोकिने अवस्था रहने छैन । बाढीपहिरो प्रभावित रसुवासहित नुवाकोट, धादिङ, चितवन र गोरखाका ग्रामीण सडकहरूमा समेत प्राविधिक टोली हेभी इक्विपमेन्टसहित परिचालित छन् । तर मौसमको जोखिम अझै पूर्ण रूपमा नसकिएकाले पहिरोग्रस्त र हिलाम्मे सडकहरूमा यात्रा गर्दा उच्च सतर्कता अपनाउन र चालकहरूलाई सुरक्षित रूपमा सवारी चलाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।
क्षतिग्रस्त सडकहरूको अवस्था
सडक विभागका अनुसार क्षतिग्रस्त पासाङ ल्हामु राजमार्ग (रसुवा–धुन्चे खण्ड) मा द्रुत गतिमा मर्मत कार्य जारी रहेको र आउँदो चार पाँच दिनभित्र धुन्चेसम्म पूर्ण सञ्चालनमा ल्याइने तयारी भइरहेको छ । त्यसै गरी वेत्रावती बजार क्षेत्रमा बाढीले बगाएको पुलको ठाउँमा बेलिब्रिज जडान भइरहेका छन् । बाढीपहिरोले बेनी–जोमसोम सडक (बैसरी, म्याग्दी) सडक अवरुद्ध छ । यो सडकको मुस्ताङतर्फको खण्ड छिट्टै खुलाउने प्रयास जारी रहेको सडक विभागका प्रवक्ता न्यौपानेले जानकारी दिनुभयो । त्यसै गरी असोज १४ गते क्षतिग्रस्त भएको कालीगण्डकी कोरिडोर (नवलपरासीपूर्व) एकतर्फी रूपमा सञ्चालन भएको छ । बेँसीसहर–खाङ्सार सडक खण्ड (मनाङ) अहिले एकतर्फी रूपमा खुला छ । यी सडकखण्डबाहेक देशभरिका सडक र राजमार्ग सञ्चालनमा रहेको प्रवक्ता न्यौपानेले जानकारी दिनुभयो ।


