काठमाडौँ, असोज २३ गते । काठमाडौँको बुढानीलकण्ठमा विदेशमा बस्ने नेपालीको घर मासिक तीन लाख ३० हजार रुपियाँ भाडामा लिएर सुन प्रशोधन तथा तस्करीको सञ्जाल सञ्चालन भइरहेको खुलेको छ। आवासीय प्रयोजनका लागि लिइएको घरभित्र सुन गलाउने मेसिन, रसायन र प्रशोधनका उपकरण राखेर तीनजना चिनियाँ नागरिकले सुनलाई पुनः बजारमा पठाउन मिल्ने स्वरूपमा तयार पार्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहीबार बिहान करिब ५ बजे बुढानीलकण्ठ –२, माथिल्लो भङ्गालस्थित उक्त घरबाट २१ किलो ७५० ग्राम सुनसहित तीनजना चिनियाँ नागरिकलाई पक्राउ गरेपछि आवासीय घरलाई अवैध कारोबारको केन्द्र बनाइएको तथ्य सार्वजनिक भएको छ। सुन ओसारपसारमा नेपाली नम्बर प्लेटको गाडी प्रयोग गरिएको र त्यसैमार्फत बाहिर निस्कन खोज्दा उनीहरू प्रहरीको निगरानीमा परेको खुलेको छ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा पक्राउ परेका तीन जना, ठुलो परिमाणमा सुन तथा सुन प्रशोधन गर्न प्रयोग हुने उपकरण र रसायन प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा २७ वर्षीय हान फेइ, ३७ वर्षीय वाङ जियानझेन र ४७ वर्षीय झोउ लोङक्विन छन् ।

कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष खड्काको अनुसार विशेष सूचनाका आधारमा केही समयदेखि उनीहरूमाथि निगरानी भइरहेको थियो । बिहीबार बिहान शङ्कास्पद गतिविधिसहित गाडीमा बाहिर निस्कन खोजेको अवस्थामा प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
“हामीले उनीहरूमाथि केही समयअघिदेखि नै निगरानी बढाएका थियौँ । बिहीबार बिहान उनीहरू शङ्कास्पद रूपमा घरबाट बाहिर निस्कन निकै हतार गरिरहेको अवस्थामा नियन्त्रणमा लियौँ” उहाँले भन्नुभयो। प्रहरीका अनुसार प्रारम्भिक सूचनामा सुन हुन सक्ने आशङ्का गरिए पनि घरभित्र प्रवेश गर्दा अपेक्षा गरेभन्दा ठुलो परिमाणमा सुन र प्रशोधनका सामग्री फेला परेका थिए ।
घरमा सुन गलाउने र त्यसलाई ठोस स्वरूपमा परिणत गर्ने उपकरणसहितको व्यवस्था गरिएको थियो । यसले उक्त घर सामान्य भण्डारणस्थल मात्र नभइ सुन प्रशोधन गर्ने केन्द्रका रूपमा प्रयोग भइरहेको देखाएको प्रहरीको भनाइ छ।
अर्धठोस सुनलाई बिस्कुट बनाउने धन्दा
बरामद सुनको स्वरूपले कारोबारको कार्यविधिबारे थप प्रश्न खडा गरेको छ । प्रहरीका अनुसार सुनलाई धुलो वा अर्धठोस स्वरूपमा नेपाल भित्र्याएर घरभित्र विभिन्न मेसिन र रसायनको प्रयोग गरी प्रशोधन गर्ने र सुनका बिस्कुट बनाउने गरिएको आशङ्का छ।
प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार तयार पारिएका ११ वटा टुक्रामा १० किलो ९९७ ग्राम सुन तथा प्लास्टिकमा राखिएको अर्धठोस अवस्थामा १० किलो ७५२ ग्राम सुन बरामद भएको छ । दुवै गरी बरामद सुनको परिमाण २१ किलो ७५० ग्राम रहेको प्रहरीले जनाएको छ।

सुन गलाउन र पुनः ठोस आकार दिन प्रयोग हुने उपकरणसमेत फेला परेकाले घरभित्र नियमित रूपमा प्रशोधनको काम हुने गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक आकलन छ। यद्यपि सुन कहाँबाट, कहिले र कुन मार्ग हुँदै नेपाल भित्रिएको हो भन्ने विषय अनुसन्धानकै क्रममा छ। प्रहरीले सुन हङकङबाट हवाई मार्ग हुँदै नेपाल ल्याइएको हुन सक्ने आशङ्का गरेको छ। तर, त्यसको पुष्टि भइसकेको छैन ।
घरधनी विदेशमा, घर अवैध कारोबारमा
यो घटनाले विदेशमा बस्ने नेपालीले भाडामा लगाएका घरको वास्तविक उपयोगबारे पनि प्रश्न उठाएको छ । मासिक तीन लाख ३० हजार रुपियाँ भाडा तिरेर लिइएको घरभित्र यति ठुलो परिमाणमा सुन, प्रशोधन उपकरण र रसायन राखिएको अवस्थामा घरधनीलाई कारोबारबारे जानकारी थियो वा थिएन भन्ने विषयसमेत अनुसन्धानको दायरामा आउन सक्छ।
घर भाडामा लिँदा भाडावालको पृष्ठभूमि, घरको प्रयोग र गतिविधिबारे पर्याप्त जानकारी नराख्दा आवासीय संरचना गैरकानुनी कारोबारका लागि प्रयोग हुन सक्ने जोखिम यस घटनाले देखाएको छ । यद्यपि घरधनीको संलग्नता वा जानकारी रहेको कुनै निष्कर्ष प्रहरीले सार्वजनिक गरेको छैन।
त्यसैगरी, नेपाली नम्बर प्लेटको गाडी प्रयोग गरेर सुन ओसारपसार गर्न खोजिएको घटनाले स्थानीय यातायातका साधन कसरी प्रयोग भए भन्ने प्रश्न उठाएको छ । गाडी कसको नाममा दर्ता छ, कसले भाडामा लिएको थियो र चालक वा सवारीधनीलाई सुनबारे जानकारी थियो कि थिएन भन्ने विषय पनि अनुसन्धानबाट खुल्न बाँकी छ।
नेपालीको संलग्नताबारे अनुसन्धान
प्रहरीले पक्राउ परेका तीनै जना चिनियाँ नागरिकसँग दोभासेको सहयोगमा बयान लिने प्रयास गरे पनि उनीहरूले अनुसन्धानमा सहयोग नगरेको जनाएको छ । उनीहरूबाट कारोबारको स्रोत, सम्पर्क सञ्जाल र गन्तव्यबारे जानकारी प्राप्त हुन नसकेपछि प्रहरीले विभिन्न कोणबाट अनुसन्धान अघि बढाएको छ।
प्रहरीले बरामद सुन नेपालमा कहाँ ल्याइयो, कसरी भित्रियो, कहाँ लैजाने तयारी थियो र कारोबारमा नेपाली नागरिकको संलग्नता थियो वा थिएन भन्ने विषयमा अनुसन्धान गरिरहेको छ । आवश्यक परे चिनियाँ पक्षसँग समेत समन्वय गरेर थप जानकारी लिने तयारी गरिएको कार्यालयले जनाएको छ ।
विदेशी नागरिक, भाडामा लिइएको निजी घर, स्थानीय सवारीसाधन र सुन प्रशोधनका उपकरण जोडिएको यो घटनाले सुनको स्रोतदेखि प्रशोधन र ओसार पसारसम्मको सम्भावित सञ्जाल पहिचान गर्नुपर्ने चुनौती प्रहरीसामु खडा गरेको छ।
बरामद सुनको वास्तविक स्रोत, कारोबारमा संलग्न अन्य व्यक्ति र अन्तरदेशीय सम्पर्क सञ्जालको पुष्टि अनुसन्धानबाट हुन बाँकी छ । प्रहरीले यी सबै पक्षको अनुसन्धान पूरा भएपछि मात्रै सुन तस्करीको सञ्जाल र त्यसमा संलग्न व्यक्तिबारे थप तथ्य सार्वजनिक गर्न सक्ने जनाएको छ।


