काठमाडौं । हलमा प्रदर्शनरत फिल्म ‘अक्षरा’का अभिनेता पुस्कर राउत नयाँ फिल्म ‘बाकस’मा अनुबन्धित भएका छन्। शनिबार फिल्मका निर्देशक नवीन पन्तले राउतलाई आफ्नो आगामी फिल्ममा अनुबन्ध गरेका हुन्।
निर्देशक पन्तले फिल्मको कथावस्तुअनुसार राउतलाई अनुबन्ध गरिएको जानकारी दिए। तर, उनलाई कुन भूमिकामा प्रस्तुत गर्न लागिएको हो भन्नेबारे भने उनले खुलाउन चाहेनन्।
‘फिल्मको कथावस्तुअनुसार नै उहाँलाई फिल्ममा अनुबन्ध गरिएको हो। उहाँको भूमिकाबारे पछि भनौँला,’ निर्देशक पन्तले भने।
पुस्करले यसअघि ‘कम्पन’, ‘एकलव्य’ र ‘आँधी तुफान’लगायत फिल्ममा अभिनय गरिसकेका छन्। हाल हलमा प्रदर्शन भइरहेको फिल्म ‘अक्षरा’मा समेत अभिनय गरेका उनी अब ‘बाकस’मार्फत दर्शकमाझ आउनेछन्।
यसअघि नै फिल्ममा महेश त्रिपाठी, विपना थापा, वर्षा राउत, भोलाराज सापकोटा र सुपला सापकोटालगायत कलाकार अनुबन्ध भइसकेका छन्।
सुजिता चौलागाईंको निर्माणमा बन्ने फिल्ममा छत्रबहादुर खड्का सहनिर्माता तथा धिरेन्द्र पन्त (धिरु भाइ) कार्यकारी निर्माता रहेका छन्।
फिल्ममा दीपक शर्मा र सनम पुरुष राईको संगीत रहनेछ। गीत तथा शब्द रचनामा संगीतकार शर्मा र निर्देशक पन्तले सहकार्य गर्नेछन्।
अर्को महिनादेखि छायांकनमा जाने तयारीमा रहेको फिल्मका मुख्य सहायक निर्देशक मनि तामाङ हुन् भने द्वन्द्व निर्देशनको जिम्मेवारी किरण दाहालले सम्हाल्नेछिन्। फिल्मको प्रोडक्सन म्यानेजरमा निर्मल न्यौपाने रहेका छन्।


