काठमाडौं । नेपाली चलचित्र ‘बाः एक योद्धा’ले बक्सअफिसमा उत्साहजनक प्रदर्शन जारी राखेको छ । दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको चलचित्रले तीन करोड रुपैयाँभन्दा बढीको ग्रस कलेक्सन गरेको छ ।
चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार आइतबारसम्म चलचित्रले ३ करोड ५ लाख २२ हजार ५०२ रुपैयाँ ग्रस कलेक्सन गरेको छ । उक्त अवधिसम्म चलचित्रलाई १ लाख ७ हजार ५३३ दर्शकले हेरेका छन् । तेस्रो सातामा प्रदर्शन भइरहेको चलचित्रले अझै पनि दर्शकको साथ पाइरहेको छ ।
प्रदर्शनको सुरुवाती १० दिनमा चलचित्रले करिब १ करोड ९३ लाख ६ हजार ४६५ रुपैयाँ ग्रस कलेक्सन गरेको थियो । निर्माण पक्षका अनुसार आइतबारसम्म चलचित्रको व्यापार ३ करोड ९ लाख रुपैयाँभन्दा माथि पुगेको छ ।
‘बाः एक योद्धा’ले नेपाली समाजमा बाबुले सन्तानको भविष्यका लागि गर्ने त्याग, संघर्ष र जीवनका चुनौतीलाई कथाको मुख्य विषय बनाएको छ । सन्तानको सपना पूरा गर्न अभिभावकले गर्ने संघर्षदेखि वृद्धावस्थामा उनीहरूले भोग्नुपर्ने उपेक्षा र पीडासम्मका विषयलाई चलचित्रमा प्रस्तुत गरिएको छ ।
चलचित्रमा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायत कलाकारको अभिनय रहेको छ ।
हरि लम्सालको लेखन तथा निर्देशनमा बनेको चलचित्र आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो । चलचित्रको कथा र पटकथा पनि निर्देशक लम्सालकै रहेको छ ।
वसन्त लम्साल निर्माता रहेको चलचित्रमा अनिल बुढाथोकी कार्यकारी निर्माता, अर्जुन पौडेल लाइन प्रोड्युसर तथा कृष्ण काफ्ले सहनिर्माताका रूपमा रहेका छन् ।


