काठमाडौं। चलचित्र ‘आ बाट आमा २’को ट्रेलर सार्वजनिक भएको १३ घण्टामै युट्युबमा दर्शकको उल्लेख्य साथ पाएको छ। ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक ट्रेलर ट्रेन्डिङको तेस्रो स्थानमा उक्लिएको छ। ट्रेलरले १६ लाखभन्दा बढी भ्युज, २२ हजारभन्दा बढी लाइक र २ हजार ५०० भन्दा बढी कमेन्ट प्राप्त गरेको छ।
ट्रेलरप्रति अधिकांश दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन्। विशेषगरी पल शाह र मलिका महतको जोडीलाई दर्शकले मन पराएका छन्। कलाकारको अभिनय, भावनात्मक दृश्य र पारिवारिक कथावस्तुले ट्रेलरप्रति दर्शकको आकर्षण बढाएको देखिन्छ।
४ मिनेट ५९ सेकेन्ड लामो ट्रेलरमा समावेश एउटा दृश्यले दर्शकको ध्यान खिचेको छ। गाडीले किच्न खोजेको कुकुरको बच्चालाई कृष्णको भूमिकामा रहेका पल शाहले बचाएको दृश्यले दर्शकको मन छोएको छ। आफ्नो बच्चा बचाउन भुकेको कुकुरको आवाज कसैले नसुनेपछि कृष्णले उद्धार गरेको दृश्यलाई दर्शकले प्रशंसा गरेका छन्।
त्यस्तै, आमाको भूमिकामा रहेकी विपना थापा र साइग्रेस पोखरेलको अभिनयको पनि दर्शकले तारिफ गरेका छन्। आधाको भूमिकामा देखिएकी मलिका महतको अभिनयसमेत प्रभावशाली देखिएको छ। चलचित्रमा आकाश श्रेष्ठको भूमिका खलनायकको हुन सक्ने अनुमान ट्रेलरका केही दृश्यले गराएका छन् भने गजित विष्ट ग्यारेज साहुको भूमिकामा देखिएका छन्।
आर्थिक अभाव र पारिवारिक संघर्षलाई पनि ट्रेलरमा प्रस्तुत गरिएको छ। आम्दानी नहुँदा निराश बनेको पात्रले भगवान्सँग हात जोडेर एक लाख रुपैयाँ मागेको दृश्यले उसको आर्थिक कठिनाइलाई उजागर गर्छ। समग्रमा ट्रेलरले आमाबुबाको सन्तानप्रतिको माया र सन्तानको आमाबुबाप्रतिको प्रेमलाई भावनात्मक रूपमा प्रस्तुत गरेको छ।
ट्रेलरले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएपछि चलचित्रका कलाकार तथा निर्माण टोलीसमेत उत्साहित देखिएका छन्। चलचित्रकर्मीहरूले पनि ट्रेलर र कलाकारको कामको प्रशंसा गरिरहेका छन्।
चन्द्र पन्तको कथा, पटकथा तथा निर्देशन रहेको चलचित्रमा पल शाह, मलिका महत, विपना थापा, रिश्ता गुरुङ, निकिता आचार्य, आकाश श्रेष्ठ, सविन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का र दिलीप अखेडालगायत कलाकारको मुख्य भूमिका छ।
चलचित्रको लेखनमा रोशन भट्ट र चन्द्र पन्तले सहकार्य गरेका छन् भने संवाद रोशन भट्टले लेखेका हुन्। करण सिंह प्रोडक्सन एक्जिक्युटिभ रहेको चलचित्रमा नवराज उप्रेतीको छायाङ्कन, बाबुल गिरीको संगीत, गम्भीर विष्टको नृत्य निर्देशन तथा साहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको छ।
ओएसआर डिजिटल चलचित्रको डिजिटल पार्टनर रहेको छ भने नेपालभर वितरणको जिम्मा आरआर फिल्म्सले लिएको छ। यसअघि प्रदर्शनमा आएको ‘आ बाट आमा’ले घरेलु बक्स अफिसमा १३ करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको थियो।
‘आ बाट आमा २’ आगामी शुक्रबारदेखि प्रदर्शनमा आउने तयारीमा छ। ट्रेलरले पाएको प्रारम्भिक प्रतिक्रियाले चलचित्रप्रति दर्शकको चासो बढाएको छ।


