काठमाडौं । निर्देशक दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘श्रीमान् श्रीमती’को छायांकन सकिएको छ। काठमाडौंका विभिन्न स्थानमा तीन सातासम्म छायांकन गरिएको चलचित्रको गीतको छायांकनसमेत पूरा भएको निर्माण पक्षले जनाएको छ।
पारिवारिक कथावस्तुमा आधारित चलचित्रमा अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री सुरक्षा पन्त मुख्य भूमिकामा छन्। चलचित्रले श्रीमान् र श्रीमतीबीचको सम्बन्ध तथा त्यसमा आउने उतारचढावलाई मुख्य विषय बनाएको निर्देशक खनालले बताएका छन्।
पटकथा प्रडक्सन र टुकी आर्ट्सको प्रस्तुतिमा बनेको चलचित्रका निर्माता खगेन्द्र लामिछाने र दीपेन्द्र के खनाल हुन्। चलचित्रमा लक्ष्मी गिरी र सुवास गजुरेललगायत कलाकारको पनि अभिनय रहेको छ।
चलचित्रको लेखन निर्देशक खनाल स्वयंले गरेका हुन् भने पटकथा तथा संवाद दीपेन्द्र के खनाल र महेश दवाडीले संयुक्त रूपमा तयार पारेका छन्। करण श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्रको छायांकन कृष्ण बा. थापाले गरेका छन्।
गम्भीर विषयवस्तुमा चलचित्र निर्माण गर्दै आएका निर्देशक खनालले ‘श्रीमान् श्रीमती’ पूर्ण पारिवारिक चलचित्र भएको बताएका छन्। नेपाली दर्शकले अहिले रुचाउने स्वादमा चलचित्र बने पनि बजारलाई मात्र ध्यान दिएर निर्माण नगरिएको उनको भनाइ छ।
“नेपाली दर्शकले अहिले मन पराउने र टेस्टमा सिनेमा बनेको छ,” खनालले भने, “यद्यपि, दर्शकले मन पराइरहेको कथा भनेर हामी बजारमुखी भएर सिनेमा बनाएका छैनौँ, इमानदार भएर सिनेमा बनाएका छौँ।”
आम नेपालीको घरपरिवारमा दैनिक घट्ने घटनाक्रमलाई आधार बनाएर चलचित्र निर्माण गरिएकाले दर्शकले रुचाउने विश्वास निर्देशक खनालले व्यक्त गरेका छन्।
चलचित्रको प्रदर्शन मिति भने निर्माण पक्षले सार्वजनिक गरिसकेको छैन।


