काठमाडौं । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’को ट्रेलर सार्वजनिक भएको १५ घण्टामै युट्युबको मुभिज विधातर्फ ट्रेन्डिङ नम्बर १ मा उक्लिएको छ। ट्रेलरले छोटो समयमै १२ लाखभन्दा बढी भ्युज प्राप्त गर्दै दर्शकमाझ उत्सुकता बढाएको हो।
ट्रेलरमा दर्शकले निर्देशक रामबाबु गुरुङको प्रस्तुतिसँगै काजीको भूमिकामा देखिएका दयाहाङ राई र नयाँ पात्रका रूपमा जोडिएका विपिन कार्कीको अभिनयको प्रशंसा गरेका छन्। विशेषगरी विपिन कार्कीको नयाँ अवतारलाई लिएर दर्शकमा चासो देखिएको छ।
ट्रेलरमा काजीको वैवाहिक जीवन, मैयासँगको सम्बन्ध र उनको जीवनमा आउने नयाँ उतारचढावलाई रोचक ढंगले प्रस्तुत गरिएको छ। बेरोजगारीबाट दिक्क भएका काजी, बीके र छन्त्यालले मुस्ताङमा ‘शान्ति होटल’ सञ्चालन गर्न थालेपछि कथाले नयाँ मोड लिने संकेत ट्रेलरले गरेको छ।
त्यस्तै, सिर्जना गुरुङको नयाँ मैयाका रूपमा प्रवेश, मिरुना मगरको शान्ति मिसका रूपमा झलक र विपिन कार्कीको दमदार इन्ट्री ट्रेलरका प्रमुख आकर्षण बनेका छन्। हास्य, पारिवारिक सम्बन्ध, उतारचढाव र एक्सनलाई समेटिएको ट्रेलरले ‘कबड्डी’ शृङ्खलाको परिचित स्वादसँगै नयाँपन दिने अपेक्षा गरिएको छ।
रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको चलचित्र असोज ३० गतेदेखि देशभर प्रदर्शनमा आउनेछ। चलचित्रमा दयाहाङ राई, विपिन कार्की, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ, सिर्जना गुरुङ, पुष्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, मिरुना मगर, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, विष्णु मोक्तान, प्रमिला राई, सुरज यादव, रमेश बज्राचार्य, हरि मिजार, पञ्चसुब्बा गुरुङ, घनु जोशी, सुमित्रा पहिम, अनुप न्यौपाने, मधु मिजार, हेमन्त बुढाथोकी, विक्रम श्रेष्ठ, सरोज अर्याल र शेखर चापागाईंसहितका कलाकारको अभिनय रहेको छ।
बाँसुरी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा रामबाबु गुरुङ, मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी)को लगानी रहेको छ। सागर राज कार्यकारी निर्माता रहेको चलचित्रमा कालीप्रसाद बाँस्कोटा, अधा सुर र झुमा लिम्बूको संगीत, सञ्जय लामाको छायांकन तथा सुरेन्द्र पौडेलको सम्पादन रहेको छ।
चलचित्रका मुख्य सहायक निर्देशक सोमनाथ खनाल र तारानाथ न्यौपाने हुन्। नेपालमा ब्यांकटेश इन्टरटेनमेन्ट र टी फल्कले वितरण गर्ने चलचित्रलाई विदेशमा सेभेन सिज इन्टरनेसनलले वितरण गर्नेछ।
ट्रेलरले पाएको प्रारम्भिक प्रतिक्रियाले ‘कबड्डी ५’प्रति दर्शकको चासो बढेको देखाएको छ। यद्यपि, यो उत्सुकता चलचित्र प्रदर्शनपछि दर्शकको प्रतिक्रियामा कत्तिको रूपान्तरण हुन्छ भन्ने कुरा भने हेर्न बाँकी छ।


