काठमाडौं। चलचित्र ‘पाँच पाण्डव’को पहिलो ट्रेलर सार्वजनिक भएको छ। निर्माण पक्षले आज सार्वजनिक गरेको ट्रेलरले चलचित्रको कथावस्तुबारे आंशिक संकेत गरेको छ। यसअघि पोस्टरमार्फत मुख्य पात्रहरू चिनाउँदै आएको निर्माण पक्षले यसपटक ट्रेलरमार्फत कथाको रहस्य खुलाउने प्रयास गरेको छ।
ट्रेलरमा आफूलाई स्वर्गबाट आएको बताउने युधिष्ठिरले भीम, अर्जुन, नकुल र सहदेवलाई खोजिरहेको देखिन्छ। तर, उनले अन्य चार पाण्डवलाई किन खोजिरहेका छन् भन्ने कुरा ट्रेलरमा खुलाइएको छैन।
पृथ्वीमा भइरहेका आन्दोलन, दमन, यातना र अपराधका दृश्यसँगै सुन्दर युवतीको आकर्षणमा युधिष्ठिर मोहित भएको प्रसंग पनि ट्रेलरमा समेटिएको छ। कुनै निश्चित उद्देश्य लिएर अघि बढिरहेका युधिष्ठिर बीचमै अलमलिएको देखिन्छ। यसले नेतृत्व, उद्देश्यबाट विचलन र समकालीन सामाजिक यथार्थसँग जोडिएको कथाको संकेत गरेको छ। यद्यपि, निर्माण पक्षले कथाको वास्तविक आशयबारे औपचारिक रूपमा केही खुलाएको छैन।
चलचित्रका पात्रहरू एकातिर महाभारतका पाँच पाण्डवको प्रतीकका रूपमा प्रस्तुत भएका छन् भने अर्कातिर समकालीन नेपाली समाजका पात्रका रूपमा पनि देखिएका छन्। यही दोहोरो प्रस्तुतिले चलचित्रको कथालाई थप रहस्यमयी बनाएको छ।
यसअघि सार्वजनिक पहिलो पोस्टरमा युधिष्ठिरको भूमिकामा हरिवंश आचार्य, भीमको भूमिकामा जितु नेपाल, अर्जुनको भूमिकामा आर्यन सिग्देल, नकुलको भूमिकामा महेश त्रिपाठी र सहदेवको भूमिकामा सुशील सिटौला देखिएका थिए। दोस्रो पोस्टरमार्फत द्रौपदीको पात्रसमेत सार्वजनिक गरिएको थियो।
चलचित्रमा इभा गिरी द्रौपदीको भूमिकामा छिन्। ट्रेलरमा सरिता गिरीसहित अन्य कलाकार पनि मुख्य भूमिकामा देखिएका छन्।
बसन्त निरौलाको निर्देशनमा बनेको ‘पाँच पाण्डव’ तिहारको अवसर पारेर आगामी कात्तिक २० गते (नोभेम्बर ६) देखि प्रदर्शनमा आउनेछ। निर्देशक निरौलाका अनुसार दर्शकले चलचित्रमा डल्बी एटमस साउन्डको अनुभवसमेत लिन पाउनेछन्।
काली रानी फिल्म्सको ब्यानरमा निर्माण भइरहेको चलचित्रमा नेपाली सिने क्षेत्रका अनुभवी तथा नयाँ पुस्ताका चर्चित कलाकारहरू एकसाथ देखिनेछन्। हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सुशील सिटौलासँगै दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, इभा गिरी, सीता न्यौपाने र रितेश पौडेल (रितेशजंग खत्री) लगायतको अभिनय रहेको छ।
चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन् भने निर्माता काली रानी श्रेष्ठ हुन्। श्रेष्ठले यसअघि गत वर्ष चलचित्र ‘लाज शरणम्’ निर्माण गरेका थिए।
‘पाँच पाण्डव’को कथा, पटकथा तथा संवाद सुशील पौडेलले लेखेका हुन्। लेखक पौडेलका अनुसार यो सामाजिक नाटकमा आधारित चलचित्र हो। महाभारतका पाँच पाण्डवका चरित्र र विम्बलाई आधार बनाएर समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्ने उनको भनाइ छ।
चलचित्रलाई श्याम तामाङले छायांकन गरेका छन् भने सम्पादन सुप्रिम पराजुलीले गरेका छन्। द्वन्द्व निर्देशन सम्राट बस्नेतको छ। गम्भीर विष्ट र विक्रम स्वाँरले कोरियोग्राफी गरेका छन्।
चलचित्रमा अर्जुन पोखरेलको संगीत, उत्तम न्यौपानेको साउन्ड डिजाइन, सुजिल कर्माचार्यको ब्याकग्राउन्ड म्युजिक (बीजीएम) र पुकार धिमालको भिजुअल इफेक्ट्स (भीएफएक्स) रहेको छ। रोहित राज गौतम एचओपी तथा विष्णु बुढाथोकी प्रोडक्सन म्यानेजरका रूपमा छन्।
‘पाँच पाण्डव’लाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले देशव्यापी वितरण गर्नेछ।


