काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले औपचारिक मान्यता दिएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले एनपीएलको तेस्रो संस्करणलाई आईसीसीले औपचारिक स्वीकृति दिएको जानकारी दिएको हो।
आईसीसीको मान्यतासँगै नेपाली क्रिकेटको विकास, विदेशी खेलाडीको सहभागिता तथा प्रतियोगिताको व्यावसायिक विस्तारमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ। यस स्वीकृतिले फ्रेन्चाइज टोलीहरूलाई टेस्ट खेल्ने राष्ट्रका अन्तर्राष्ट्रिय खेलाडीहरूलाई प्रतियोगितामा सहभागी गराउने अवसर प्रदान गर्नेछ।
यसबाट टोलीहरूले प्रायोजन, विज्ञापन तथा व्यावसायिक साझेदारी विस्तार गर्न सक्नेछन्। साथै, प्रतियोगितामार्फत खेल पर्यटन प्रवर्द्धनमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।
यसअघि एनपीएलले आईसीसीको आंशिक स्वीकृति मात्रै पाएको थियो। त्यसका कारण सीमित टोलीले मात्र अन्तर्राष्ट्रिय खेलाडीलाई प्रतियोगितामा सहभागी गराउन पाउने अवस्था थियो।
एनपीएलको तेस्रो संस्करण आगामी कात्तिक ९ देखि मंसिर ५ गतेसम्म अर्थात् अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म सञ्चालन हुनेछ।


