काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा आज ‘फूलपाती बढाइँ समारोह–२०८३’ भव्य रूपमा सम्पन्न भएको छ। समारोहमा नेपाली सेनाले सेनाका परमाधिपतिसमेत रहेका राष्ट्रपति पौडेलको सम्मानमा सलामी अर्पण गरेको थियो।
समारोहमा नेपाली सेनाको टोलीले शङ्खघोषसहित राइफलबाट लहरे तथा एकट्ठा बढाइँ गर्नुका साथै तोपबाट समेत बढाइँ गरेको थियो। सैनिक परेड प्रदर्शन गरिएको कार्यक्रममा सैनिक हेलिकप्टरमार्फत ‘फूलपाती बढाइँ समारोह–२०८३’ लेखिएको ब्यानर प्रदर्शन र पुष्पवृष्टि गरिएको थियो। सो अवसरमा दुर्गा बन्दनासमेत प्रस्तुत गरिएको थियो।
फूलपाती बढाइँ नेपाली धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने विशिष्ट मौलिक कार्यक्रमका रूपमा परिचित छ। नेपाली सेनाले हरेक वर्ष बडादसैँको सप्तमी अर्थात् फूलपातीका दिन सैनिक मञ्च टुँडिखेलमा भव्य समारोह आयोजना गरी बढाइँ गर्दै आएको छ।
गोरखाबाट ल्याइएको जमरा र फूलपातीलाई साइतअनुसार हनुमानढोकास्थित दसैँघरमा भित्र्याएपछि टुँडिखेलमा फूलपाती बढाइँ गर्ने परम्परा रहिआएको छ।
समारोहमा प्रथम महिला सविता पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीगण, विशिष्ट व्यक्तित्व तथा कूटनीतिक नियोगका प्रमुख र प्रतिनिधिहरूको उपस्थिति थियो।
फूलपाती बढाइँ अवलोकन गर्न टुँडिखेल वरपर सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो। नेपाल टेलिभिजनलगायत विभिन्न सञ्चारमाध्यमले समारोहको प्रत्यक्ष प्रसारण गरेका थिए।


