साउन ३० , इलाम । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले कुनै एक दललाई बहुमत सिट दिएर चुनावी तालमेल हुन नसक्ने बताएका छन्। चुनावी तालमेल अहिलेको आवश्यकता भएपनि सबै दलका लागि सम्मानजनक नभएसम्म तालमेल नहुने उनको भनाइ छ।
गृहजिल्ला इलाममा आयोजित कार्यकर्ता प्रशिक्षण तथा पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको सम्मान कार्यक्रममा खनालले भने, ‘सबै पार्टीका निम्ति सम्मानजनक हुने निष्कर्षका आधारमा मात्रै तालमेल हुनसक्छ, कुनै एउटा पार्टीले मलाई बहुमत चाहियो, मलाई बहुमत हुनेगरी तालमेल गरौं भन्यो भने त्यस्तो ढंगले मात्र तालमेल हुँदैन।’
उनले तालमेलका लागि केन्द्रमा घनीभूत छलफल भइरहेको भन्दै तालमेलबारे दलहरूले आ–आफ्नै प्रस्तावसमेत राखिरहेको बताए। आफ्नो दलले २०७४ सालको सिट संख्यालाई आधार मानेर अबको तालमेल गर्ने प्रस्ताव गरेको पनि उनले बताए। ‘तालमेल गर्दा अहिले ०७४ सालको निर्वाचनको परिणामलाई जुन–जुन दलले जसरी–जसरी बहन गरिरहेका छन्, त्यो अवस्थालाई प्राथमिकतासाथ हेरिनुुपर्ने हुन्छ। त्यसलाई आधार मानेर अघि बढ्नुुपर्ने हुन्छ,’ उनले भने, ‘भर्खरै सकिएको स्थानीय तहको निर्वाचन र बीचमा भएका कतिपय परिवर्तनलाई पनि ध्यानमा राखेर तालमेलको मोडालिटी बनाउन सकिन्छ। कार्यदलले नयाँ किसिमको धारणा पनि ल्याउन सक्छ।’
तालमेलमा स्थानीय तह निर्वाचनको मतलाई आधार मान्नु व्यावहारिक नहुने उनको भनाइ छ। ‘स्थानीय निर्वाचनलाई भन्दा ०७४ सालकै प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मतपरिणामलाई आधार मान्नुु व्यावहारिक हुन्छ,’ उनले भने, ‘गठबन्धन भएकाले स्थानीय निर्वाचनमा कुनै दलले ल्याएको मत त्यो दलको मात्रै साँचो मत होइन, आएको मत कुन दलको कति हो भन्ने छुुट्टिँदैन।’
खनालले गठबन्धनभित्र ‘कम्युनिस्टपक्षीय’ दलहरूको बेग्लै मोर्चाका लागि बैठक चलिरहेको पनि खुलाए। ‘गठबन्धनभित्र नेकपा (एस), माओवादी केन्द्र, जनमोर्चा र जनता समाजवादी गरी ४ दलबीच पनि बेग्लै मोर्चाका लागि प्रयास भएको छ,’ उनले भने, ‘यो चाहिँ मोर्चा र नेपाली कांग्रेसको बीचमा तालमेलबारे छलफलका लागि विचार मिल्नेहरूको मोर्चा हो। त्यो मोर्चा बन्यो भने मोर्चा र कांग्रेसबीचमा तालमेल गर्ने वा अरूतिर पनि ढोका खुला राखेर जाने भन्ने कुरा हुनसक्छन्।’
खनालले वामपन्थीको व्यापक मोर्चा बनोस् भन्ने पहिल्यैदेखि सबैले शुभेच्छा राखेको भन्दै ‘देशको सबैभन्दा ठूलो वाम समूह लचिलो भए वाम एकता सम्भव’ भएको पनि बताए। नेकपा (एमालेप्रति लक्षित गर्दै उनले भने, ‘तर, सबैभन्दा ठूलो वाम समूूहको नेतृत्वले आवश्यकता बोध ग¥यो र लचिलो भएर अगाडि बढ्यो भनेमात्रै त्योखालको बृहत् वाम एकता सम्भव छ, उसले चाहेन भने वस्तुगत अवस्था विद्यमान भएपनि आत्मगत अवस्था बनेको रहेनछ भनेर हामीले महसुुस गर्नुपर्ने हुन्छ।’ सबैभन्दा ठूलो वाम समूहले अहिले वाम एकता आवश्यकता नदेखेको र लचिलो नभएको उनले बताए।


