मंसिर १६ ,काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबलमा दक्षिण कोरिया नकआउट चरणमा प्रवेश गरेको छ ।एजुकेसन सिटी स्टेडियममा शुक्रबार राति पोर्चुगललाई २-१ गोलले हराउँदै दक्षिण कोरिया नकआउट चरणमा पुगेको हो ।
पोर्चुगलविरुद्ध दक्षिण कोरियाले पुनरागमन गर्दै जित निकालेको हो ।रोमान्चक खेलमा सुरुआती अग्रता पोर्चुगलले बनाएको थियो ।खेलको पाँचौं मिनेटमा रिकार्डो होर्टाले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको २७ औं मिनेटमा किम योङ जीओनले गोल गर्दै कोरियालाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।त्यसपछि खेलको इन्जुरी समयमा ह्वाङ हि चानले गोल गर्दै कोरियालाई २-१ को जित दिलाए ।
यस जितसँगै कोरिया समूह ‘एच’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।कोरियाले ३ खेलमा ४ अंक जोड्यो ।हारको बाबजुत पोर्चुगल समूह विजेता बन्दै नकआउट चरणमा पुगेको छ ।पोर्चुगलले ३ खेलमा ६ अंक जोड्यो ।


